ह्वाइट हाउसमा विवादास्पद ‘बलरुम’ निर्माण जारी राख्न सर्वोच्चको अनुमति: ट्रम्पलाई ठूलो कानुनी राहत

 

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले ह्वाइट हाउसमा निर्माण भइरहेको विशाल र विवादास्पद ‘बलरुम’ (नाचघर) को कार्य रोक्न अस्वीकार गरेको छ। ऐतिहासिक संरचना संरक्षणवादी समूहको मागलाई खारेज गर्दै अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो महत्त्वाकांक्षी परियोजना अघि बढाउन बाटो खुला गरिदिएको हो।

पाँच-चारको फैसला र राजनीतिक विभाजन
समाचार एजेन्सी एपीका अनुसार अदालतले पाँच-चारको बहुमतका आधारमा यो आदेश जारी गरेको हो। अदालतको कन्जरभेटिभ (रुढीवादी) बहुमतले निर्माणको पक्षमा फैसला गर्दा मुख्य न्यायाधीश जोन रोबर्ट्स र अन्य तीन उदारवादी न्यायाधीशहरूले भने यसमा असहमति जनाएका थिए। अदालतले ‘नेशनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेशन’ नामक संस्थासँग यस विरुद्ध मुद्दा लड्ने कानुनी हैसियत  नभएको निष्कर्ष निकालेको छ।

परियोजना र सुरक्षाको दाबी
राष्ट्रपति ट्रम्पले करीब ९० हजार वर्ग फिट क्षेत्रफलको यस बलरुमलाई आफ्नो राष्ट्रपतीय कार्यकालको ‘ऐतिहासिक विरासत’  को रूपमा प्रस्तुत गर्दै आएका छन्। रोयटर्सका अनुसार ट्रम्प प्रशासनले यो संरचना ह्वाइट हाउसको सुरक्षाका लागि पनि अपरिहार्य रहेको दाबी गरेको छ। यसमा अत्याधुनिक ‘एन्टी–अट्याक’ प्रविधिहरू जडान गरिने र यसले ह्वाइट हाउसलाई सम्भावित आक्रमणबाट जोगाउने ह्वाइट हाउसको भनाइ छ।

मुख्य न्यायाधीशको कडा आपत्ति
फैसलामा असहमति जनाउँदै मुख्य न्यायाधीश रोबर्ट्सले कडा टिप्पणी गरेका छन्। उनले ह्वाइट हाउस कुनै साधारण भवन नभएको र यसलाई बिना कुनै नियम परिवर्तन गर्न नमिल्ने बताए। विन्स्टन चर्चिलको भनाइ उद्धृत गर्दै उनले भनेका छन्— “हामी भवनको निर्माण गर्छौँ र पछि तिनै भवनले हामीलाई आकार दिन्छन्।” उनले यसलाई संसद्को अधिकार क्षेत्रमाथिको हस्तक्षेप हुन सक्ने चेतावनी समेत दिएका छन्।

युद्धस्तरमा निर्माण कार्य
एएफपीका अनुसार ट्रम्प प्रशासनले यो परियोजनालाई ‘अपरिहार्य’ बनाउन निकै द्रुत गतिमा काम अघि बढाएको छ। अदालतमा बुझाइएको दस्तावेज अनुसार सयौँ कामदारहरूले दैनिक २० घण्टा, हप्ताको सातै दिन काम गरिरहेका छन्। भवनमा प्रयोग गरिएको विशेष प्रकारको कङ्क्रिटका कारण यसलाई पछि भत्काउन प्राविधिक रूपमा असम्भव जस्तै हुने बताइएको छ।

विपक्षीहरूले भने ट्रम्पले संसद्को स्वीकृति बिना ह्वाइट हाउसको ‘इस्ट विङ’ भत्काएर कानुनी मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन्।

ट्रम्पको प्रतिक्रिया
अदालतको आदेशलगत्तै ट्रम्पले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै लेखेका छन्— “सर्वोच्च अदालतले बलरुम र सैन्य कम्प्लेक्सको पक्षमा फैसला गरेकोमा म खुसी छु। यो वासिङ्टन डीसीकै उत्कृष्ट संरचनामध्ये एक हुनेछ।” उनले संरक्षणवादीहरूको मुद्दालाई ‘आधारहीन’ भएको दाबी समेत गरे।

तल्लो अदालतमा मुद्दा अझै विचाराधीन रहे पनि सर्वोच्चको यो आदेशले ट्रम्पलाई आफ्नो कार्यकालभित्रै निर्माण कार्य सम्पन्न गर्ने अवसर दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन्।