पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालनमा: रोकिएका सवारी गन्तव्यतर्फ

काठमाडौँ, भदौ १६ । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको महत्वपूर्ण सडक सञ्जाल कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ । कालीगण्डकी गाउँपालिका २ राक्सेमा आज बिहान सडकमाथिबाट पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको संयुक्त पहलमा दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाइएको हो । पहिरो हटाएसँगै उक्त सडकखण्डमा सवारीसाधनको आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।

आज बिहान सडक अवरुद्ध भए लगत्तै प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली कार्यक्षेत्रमा खटिएको थियो। सडकमा थुप्रिएको लेदो र ढुङ्गा पन्छाएर यातायात सुचारु गरिएपछि बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका यात्रुवाहक तथा मालबाहक सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

कालीगण्डकी करिडोर यस क्षेत्रको मुख्य सडक सञ्जाल भएकाले सडक खुलेसँगै हजारौँ यात्रुलाई राहत पुगेको छ। यद्यपि, वर्षा जारी रहेकाले सो खण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।