रसुवा बाढी प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ, भदौ १८ । काठमाडौँ महानगरपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको विपद प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई विभिन्न खोज तथा उद्धार सामग्री प्रदान गरेको छ । राष्ट्रिय सभागृहस्थित महानगर आपतकालीन कार्य सञ्चालन केन्द्रमा आयोजित एक कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले महानगर स्काउटका स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिंखडालाई उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभयो । सो अवसरमा संयोजक थापाले बाढीग्रस्त क्षेत्रको सामाजिक व्यवस्थापन र उद्धार कार्यमा काठमाडौँ स्काउटले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा करौँती, हेल्मेट, पिक, सावेल (बेल्चा), पञ्जा, भर्‍याङ, स्टेचर, हम्बर, लङ बुट र डोरीलगायतका उपकरणहरू रहेका छन् । यी सामग्रीहरू बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक देखिएकाले केन्द्रमा मौज्दात रहेका सामग्रीहरूमध्येबाट उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगर स्काउटले नेपाल स्काउटसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण कार्यमा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको छ । यस सामग्री सहयोगले घटनास्थलमा खटिएका टोलीलाई कार्यसम्पादनमा थप सहज हुने विश्वास लिइएको छ ।