चीनले जलविज्ञान र हिमतालको जोखिमबारे नेपाललाई निरन्तर सूचना दिने

काठमाडौँ, १९ भदौ । चीन सरकारले नेपालमा भइरहेको उद्धार तथा विपद् राहत कार्यलाई थप प्रभावकारी बनाउन आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचनाहरू निरन्तर रूपमा उपलब्ध गराउने भएको छ। चीनको जलस्रोत मन्त्रालयले सीमावर्ती क्षेत्रमा रहेका नदी र हिमतालहरूको अवस्थाबारे नेपालसँग नियमित तथ्याङ्क आदानप्रदान गर्ने प्रतिबद्धता जनाएको हो।

काठमाडौँस्थित चिनियाँ दूतावासका अनुसार यस सूचना आदानप्रदान संयन्त्रमा विशेष गरी नदीहरूमा पहिरोका कारण सिर्जना भएका अवरोध र हिमतालहरू फुट्न सक्ने सम्भावित जोखिमसम्बन्धी जानकारीहरू समावेश हुनेछन्। यसले तल्लो तटीय क्षेत्रमा हुन सक्ने थप क्षति न्यूनीकरण गर्न नेपाललाई पूर्वतयारीमा मद्दत पुग्नेछ।

चीन–नेपाल सीमास्थित केरुङ–रसुवा नाका क्षेत्रमा भीषण पहिरो गएपछि चीनका मौसमसम्बन्धी अधिकारीहरूले नेपाललाई मौसम निगरानी, पूर्वानुमान र प्रभावसम्बन्धी सेवाहरू निरन्तर प्रदान गर्दै आएका छन्।

विपद् लगत्तै चीनको मौसम प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियो संवादमार्फत आपत्कालीन परामर्श समेत गरेको थियो। सीमापार हुने यस्तो प्राविधिक सहकार्यले दुवै देशका नागरिकको धनजनको सुरक्षा र विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

भोटेकोशी र त्रिशूली नदी प्रणालीमा चीनतर्फबाट आउने बहावले प्रत्यक्ष प्रभाव पार्ने भएकाले चीनले उपलब्ध गराउने यो आपत्कालीन तथ्याङ्कलाई नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।