विपद्का बेला विभत्स दृश्य र अपुष्ट सूचना सम्प्रेषण नगर्न प्रेस काउन्सिलको निर्देशन
काठमाडौँ, १९ भदौ । प्रेस काउन्सिल नेपालले विपद्का समयमा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलताका सम्बन्धमा नयाँ सम्पादकीय निर्देशिका जारी गरेको छ। काउन्सिलले ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै विभत्स दृश्य, अपुष्ट सूचना र पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री सार्वजनिक नगर्न सबै सञ्चारमाध्यमलाई निर्देशन दिएको हो।
काउन्सिलले समाचारको प्रतिस्पर्धामा लागेर हतारमा अपुष्ट विवरण दिनुको साटो सही र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको छ। निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता र क्षतिका विवरणहरू आधिकारिक वा विश्वसनीय स्रोतबाट शतप्रतिशत पुष्टि भएपछि मात्र सम्प्रेषण गर्नुपर्नेछ।
निर्देशिकाले क्षतविक्षत शव, रक्ताम्मे दृश्य, मृतकको अनुहार र गम्भीर घाइतेका पीडादायी सामग्री प्रकाशन/प्रसारणमा पूर्णतः बन्देज लगाएको छ। विशेष गरी वेबसाइट, फेसबुक र युट्युब जस्ता डिजिटल प्लेटफर्मका ‘थम्बनेल’ वा कभर फोटोमा समेत यस्ता संवेदनशील दृश्य राख्न नपाइने व्यवस्था गरिएको छ। यदि सार्वजनिक हितका लागि कुनै दृश्य अनिवार्य भएमा अनुहार छोप्ने वा धमिलो (Blur) पार्ने र पूर्वसूचना दिएर मात्र प्रयोग गर्न भनिएको छ।
पीडितलाई केवल समाचारको पात्र मात्र नबनाई उनीहरूको सम्मान र अधिकारको ख्याल गर्न काउन्सिलले निर्देश गरेको छ। बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै उनीहरू रोइरहेको वा त्रसित अवस्थाको ‘क्लोजअप’ दृश्य र सुरक्षा जोखिममा पार्न सक्ने व्यक्तिगत विवरण सार्वजनिक नगर्न भनिएको छ।
सामाजिक सञ्जालबाट प्राप्त सामग्री पुनः प्रयोग गर्नुअघि त्यसको स्रोत, समय र स्थानको स्वतन्त्र पुष्टि गर्नुपर्नेछ। कृत्रिम बुद्धिमत्ताबाट सिर्जित दृश्य प्रयोग गर्दा ‘एआईद्वारा सिर्जित साङ्केतिक दृश्य’ भनेर स्पष्ट खुलाउनुपर्ने र यसले वास्तविक घटनास्थलको भ्रम पार्न नहुने निर्देशिकामा उल्लेख छ।
काउन्सिलले विपद्का समाचारलाई केवल विनाश र मृत्युको सङ्ख्यामा मात्र सीमित नराखी मौसम, पूर्वचेतावनी, अस्पताल, राहत केन्द्र र आपत्कालीन सम्पर्क जस्ता नागरिकलाई काम लाग्ने सूचनामा केन्द्रित गर्न सुझाएको छ। “सकारात्मक सञ्चारको अर्थ वास्तविकता लुकाउनु होइन, समस्याका बीचमा समाधान र पुनरुत्थानको बाटो देखाउनु हो,” निर्देशिकामा उल्लेख छ।