खुला तथ्याङ्क र सार्वजनिक सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौँ, भदौ २० । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकासँग सम्बन्धित सार्वजनिक सरोकारका सूचना र खुला तथ्याङ्कहरू उत्पादन भएकै बखत नागरिक र सरोकारवालाको पहुँचमा पुग्ने प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको छ । सहरी योजना आयोग र विभागीय प्रमुखहरूबिच आयोजित पाक्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई सुसूचित हुने अधिकार सुनिश्चित गर्न सहरी योजना आयोगलाई प्रणाली विकास गर्न र विभागीय प्रमुखहरूलाई आफ्ना विवरणहरू तत्काल अद्यावधिक गर्न निर्देशन दिनुभयो । आर्थिक वर्षको सुरुदेखि हालसम्मको प्रगति समीक्षा गर्ने र लक्ष्य प्राप्तिमा देखिएका चुनौतीहरूलाई आन्तरिक समन्वयमार्फत समाधान गर्ने उद्देश्यले सो बैठक आयोजना गरिएको थियो ।

बैठकका क्रममा कार्यवाहक प्रमुख डंगोलले वातावरणमैत्री पूर्वाधार निर्माण अन्तर्गत ‘वाटर रिचार्ज’ (पानी पुनःभरण) र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘स्कूल स्कूल पार्टनरसिप’ (एसएसपी) कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । प्रशासनिक दक्षतामा जोड दिँदै उहाँले सार्वजनिक खरिद सम्बन्धी परिवर्तित व्यवस्थालाई आत्मसात गर्दै असोज महिनाभित्रै बोलपत्र आह्वानका सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न र सेवा प्रवाहमा बाधा नपुग्ने गरी विभागीय बैठकहरू कार्यालय समय अगाडि वा पछाडि मात्र राख्न आग्रह गर्नुभयो । साथै, विपद्को समयमा हुन सक्ने सम्भावित कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि बजारमा विशेष निगरानी राख्न समेत उहाँले कडा निर्देशन दिनुभयो ।

समीक्षा बैठकमा विभिन्न विभागका प्रमुखहरूले चालू आर्थिक वर्षका लागि निर्धारित आफ्ना प्राथमिकताका तीनवटा मुख्य योजनाहरूको कार्यान्वयन स्थिति प्रस्तुत गर्नुभएको थियो । छलफलका क्रममा महानगर आपतकालीन सेवा सञ्चालन, भोटेकोशीको बाढी व्यवस्थापन, सडक तथा पार्किङ व्यवस्थापन र फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी सरसफाइ कार्यलाई थप प्रभावकारी बनाउने विषयमा चर्चा भएको थियो । यसका साथै ‘उज्यालो काठमाडौँ’ अन्तर्गत सडक बत्ती व्यवस्थापन, विद्युतीय शासनको प्रभावकारिता, डाटा सेन्टर सञ्चालन, सहरी हरियाली प्रवर्धन र काठमाडौँ फिल्म फेस्टिभलको तयारीका सम्बन्धमा भएका प्रगतिबारे समेत समीक्षा गरिएको थियो ।

बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले महानगरभित्र पार्किङ व्यवस्थापनका लागि उपलब्ध स्थानहरूको अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । वित्त विभागका प्रमुख विकास चित्रकारले वडाहरूमा हालसम्म १ अर्ब १४ करोड रुपैयाँ निकासा भइसकेको र अब केन्द्र तथा सबै वडामा ‘इलेक्ट्रोनिक फण्ड ट्रान्सफर’ प्रणाली लागू गर्न लागिएको बताउनुभयो । त्यसैगरी, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनमा यस वर्ष अघिल्लो वर्षभन्दा उच्च अङ्क हासिल गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालसहित विभागीय प्रमुखहरूको उपस्थिति रहेको उक्त बैठकले सहरको आवधिक योजना निर्माण र तथ्यमा आधारित विकास निर्माणलाई आगामी दिनमा थप प्राथमिकता दिने निष्कर्ष निकालेको छ ।