भोटेकोशी बाढीको वितण्डा : १,३५६ शव फेला, झण्डै ५ हजार अझै बेपत्ता

काठमाडौँ,  भदौ २२ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या हालसम्म एक हजार ३५६ पुगेको छ भने चार हजार ९९४ जना अझै बेपत्ता रहेका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार, सबैभन्दा बढी क्षति चितवन जिल्लामा भएको छ, जहाँ ३६३ जनाको शव फेला परेको छ । यसैगरी, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार फेला परेका शवमध्ये हालसम्म ९८ वटाको मात्र सनाखत भई आफन्तले बुझेका छन्। बाँकी शवहरूको पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा नाता प्रमाणित र दुई प्रति फोटोसहित नमूना उपलब्ध गराउन प्रवक्ता महतले आग्रह गर्नुभएको छ ।

बेपत्ताको सङ्ख्या अझै ठूलो
बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझै ठूलो रहेकाले खोजी कार्यलाई थप प्रभावकारी बनाइएको छ। तथ्याङ्क अनुसार नुवाकोटबाट दुई हजार ३४० र रसुवाबाट एक हजार ९६७ जना अझै सम्पर्कविहीन छन् । अन्य प्रभावित क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा नागरिकहरू हराइरहेका छन् ।

उद्धार र राहत कार्य तीव्रतामा
विपद्पश्चात् हालसम्म १३ हजार ३९६ जनाको सफल उद्धार गरिएको छ। बाढीबाट घाइते तथा प्रभावित भएका ६ हजार ६७६ जनाले विभिन्न स्वास्थ्य संस्थामा उपचार सेवा लिएका छन् ।

हाल विस्थापित नागरिकहरूलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको गाँस र बासको उचित व्यवस्थापन गर्न राज्यका विभिन्न निकायहरू सक्रिय रूपमा लागिपरेका छन् । सुरक्षा निकाय, स्थानीय तह र गैरसरकारी संस्थाहरूको समन्वयमा खोजी, उद्धार तथा राहत वितरण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ ।