बाढी पीडितको सम्झनामा पशुपतिनाथलगाएत विभिन्नस्थानमा दीप प्रज्वलन

काठमाडौँ, २२ भदौ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र देशभरका विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा भएको यस विशेष कार्यक्रममा हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन र सर्वसाधारणको सहभागिता रहेको थियो ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार दिवंगत आत्माहरूको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्न यो कार्यक्रम गरिएको हो । “हामीले बाढीमा ज्यान गुमाएकाहरूको स्मरण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र अझै पनि बेपत्ता रहेकाहरूको अवस्था छिटो पत्ता लागोस् भन्ने सामूहिक कामनाका साथ दीप प्रज्वलन गरेका हौँ,” उहाँले भन्नुभयो ।

श्रद्धाञ्जली अर्पणका लागि बिहानैदेखि पशुपति क्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानहरू गरिएका थिए । पशुपतिनाथस्थित वाग्मती किनारमा बिहान विभिन्न धर्मग्रन्थहरूको सामूहिक पाठ पारायण गरिएको थियो भने साँझ मन्दिरको मुख्य ढोकाअगाडि हजारौँ बत्तीहरू बालेर शोक र प्रार्थना व्यक्त गरिएको हो ।

सरकारले बाढी पीडितहरूको सम्मानमा आज सोमबार देशभर ‘राष्ट्रिय शोक’ घोषणा गरेको सन्दर्भमा पशुपति क्षेत्रलगाएत काठमाडौँको तारकेश्वर लामबगर, तनहुँकाे व्यास, काठमाडौँको अनामनगर, रुकुम पश्चिमको मुसिकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चाेककाे चाैतारा, धादिङबेसी र गुल्मीमा पनि दीप प्रज्वलन गरेर शोक र प्रार्थना गरिएकाे थियाे ।