किम्रोङखोला थुनिएपछि मोदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, भदौ २३ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोङखोलाको बहाव एकाएक रोकिएपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ । आज साँझ ६ः३० बजेदेखि खोला थुनिएर पानीको बहाव पूर्ण रूपमा अवरुद्ध भएको स्थानीयबाट सूचना प्राप्त भएपछि गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार खोला कुन स्थानमा र के कारणले थुनिएको हो भन्नेबारे हालसम्म यकिन हुन सकेको छैन । “साँझदेखि नै खोलाको पानी रोकिएको खबर आएपछि हामी वस्तुस्थिति बुझ्न वीरेठाँटीतर्फ जाँदैछौँ,” अध्यक्ष केसीले भन्नुभयो, “किम्रोङखोला र यो मिसिने मोदीखोला आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन सूचित गरेका छौँ ।”

किम्रोङखोला मोदी नदीको सहायक खोला भएकाले कास्की र पर्वतका नदी तटीय क्षेत्रहरू वीरेठाँटी, नयाँपुल लगायतका बस्तीमा उच्च सतर्कता अपनाउन भनिएको छ। खोला थुनिएको स्थानमा पहिरो गएको हुनसक्ने आशंका गरिएको छ ।

यसअघि गत असार २८ गते पनि किम्रोङखोलामा आकस्मिक बाढी आउँदा ठूलो क्षति पुगेको थियो। उक्त बाढीले स्थानीय पुल बगाउनुका साथै होटलहरूमा समेत क्षति पुर्‍याएको थियो। खोला थुनिएर पुन: बाढी आउन सक्ने खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *