नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

काठमाडौँ, असोज ३ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन ।

क्षीरेश्वरनाथ नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले सम्बन्धित जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुभयो ।

नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारका अनुसार नाप नक्सा सम्पन्न भइसकेका क्षीरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारलाई भोलि प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको छ ।

नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै सम्बन्धित जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि भदौ २९ गते हंसपुर नगरपालिका-५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *