कालीगण्डकी र रिडीको बहाव बढेपछि गुल्मीमा बस्ती खाली गराउन थालियो

गुल्मी, १० असोज । कालीगण्डकी र रिडी खोलाको बहाव बढेपछि गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ लामोचौपारी आसपासका बस्तीमा जोखिम बढेको छ। जोखिम बढेसँगै स्थानीयलाई सतर्क गराउँदै बस्ती खाली गराउन थालिएको छ।

खोलाको बहाव बढेपछि जोखिममा रहेका स्थानीयले घरमा रहेका सामान सुरक्षित स्थानमा सार्न थालेका छन्। रातिदेखि नै स्थानीय युवाहरूले जोखिममा रहेका परिवारलाई घरका सामान सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन्।

रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष नवराज विकसहित स्थानीय युवाहरूले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्न सहयोग गरेको स्थानीयले बताएका छन्।

स्थानीय हरेराम भण्डारीका अनुसार रातिदेखि नै युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

कालीगण्डकी र रिडी खोलाको प्रभाव थप बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *