कालीगण्डकीको धार बस्तीमा पस्दा उजाडियाे तिल्केनीचौरका घर–जग्गा
म्याग्दी, १३ असोज । लगातारको वर्षापछि उर्लिएको कालीगण्डकीले धार परिवर्तन गर्दा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका घर, जग्गा र संरचना जोखिममा परेका छन् । नदीले कटान तीव्र बनाएपछि स्थानीयले वर्षौंदेखि बस्दै आएको घरसमेत छाड्न थालेका छन् ।
दुई दिनयता गमबहादुर सेञ्चुरीको घरको आँगननजिकै कालीगण्डकी बगिरहेको छ । नदीले करेसाबारी र सडकछेउको एक रोपनीभन्दा बढी जग्गा बगाएपछि उनले घरका सामान निकालेर सडकमा थुपारेका छन् । परिवारलाई कहाँ लगेर राख्ने भन्ने टुंगो भने अझै लागेको छैन ।
“करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था छैन,” घरका सामान सार्दै गरेका सेञ्चुरीले भने, “बाढी र कटानले हामीलाई सुकुम्बासी बनायो । परिवारलाई कहाँ लगेर राख्ने भन्ने टुंगो छैन ।”
आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर बेनी–जोमसोम–कोरला सडकको व्यापारिक केन्द्रका रूपमा परिचित थियो । यहाँका रेष्टुरेन्टमा स्थानीय माछा, कुखुरा तथा अन्य परिकारका लागि बेनी, बागलुङ, कुश्मा र पोखराबाटसमेत पाहुना पुग्ने गरेका थिए । तर, असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षापछि आएको बाढीले बस्तीको स्वरूप नै बदलिदिएको छ ।
रेष्टुरेन्ट व्यवसायी गोपाल भण्डारीले जीवनभरको कमाइ खर्चेर बनाएको घर छाड्नुपरेको बताए । कालीगण्डकीले धार परिवर्तन गर्दा उनको घरनजिकै रहेको खेलमैदानको करिब ८० प्रतिशत भाग कटान भएको छ । अहिले नदी त्यही स्थानबाट बगिरहेको छ ।
“पचास मिटर टाढा बगिरहेको कालीगण्डकीले धार परिवर्तन गरेर एक्कासि बस्तीमा आउला भन्ने कल्पना पनि गरेको थिएन,” भण्डारीले भने, “घरजग्गा र सम्पत्ति मात्रै होइन, यहाँ काम गरेर जीविकोपार्जन गर्ने मजदुर तथा तरकारी, दूध, फलफूल र कुखुरा बेच्ने किसानसमेत प्रभावित भएका छन् ।”
तिल्केनीचौरको चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङले करिब दुई दशक व्यवसाय गरेर बसेको ठाउँ छाडेर गलेश्वरमा बस्न थालेका छन् । उनका अनुसार बस्तीमा रहेका घर जुनसुकै बेला कालीगण्डकीले बगाउने जोखिम छ ।
नजिकैको घुमाउने ताल क्षेत्रमा समेत नदी कटान बढेको स्थानीय हरि चन्दले बताए । बाढीको जोखिमका कारण स्थानीय राति पाखोमा रहेको कुखुरा फार्ममा गएर सुत्न बाध्य छन् ।
घुमाउने तालदेखि पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । उक्त पुल अन्नपूर्ण–धौलागिरि चक्रीय पदमार्गको प्रवेशबिन्दुका रूपमा प्रयोग हुँदै आएको थियो । पुलसँगै बाँसखर्कबाट ल्याइएको खानेपानीको पाइपलाइन पनि बगेपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।
तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा समेत कालीगण्डकीले कटान गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको आयोजनाले गत सातादेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।
विद्युत्गृहदेखि करिब ५० मिटर टाढा रहेको नदी धार परिवर्तन गरेर स्वीचयार्ड नजिक पुगेको छ । नदी टेलरेसबाट समेत बग्न थालेको छ । विद्युत्गृहमा भने हालसम्म प्रत्यक्ष क्षति पुगेको छैन । प्राकृतिक विपद्का कारण परीक्षण उत्पादन केही दिनका लागि बन्द गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए ।
विद्युत्गृह र कालीगण्डकीबीच रहेको बेनी–जोमसोम सडकसमेत बाढीले बगाएको छ । पहिले सवारीसाधन गुड्ने सडकमा अहिले नदी बगिरहेको छ । आयोजनाको परिसरमा रहेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी)का उपकरण तथा करिब २० वटा सवारीसाधनसमेत बाढीले बगाएको कर्मचारी कुमार यादवले बताए ।
यता, गायत्रीमन्दिर पारीको राममन्दिर क्षेत्रमा कालीगण्डकीको भँगालो ठोक्किएपछि कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गममा रहेको राममन्दिरसमेत जोखिममा परेको छ । पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएको छ भने लेदो घरभित्र पस्दा स्थानीय प्रभावित भएका छन् ।
राहुघाट क्षेत्रमा पहिरोको दीर्घकालीन समाधान नहुँदा बर्सेनि समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ । पछिल्लो बाढीपहिरोपछि मात्रै यहाँका २१ घरपरिवार जोखिममा परेका छन् ।
