सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १५ असोज । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको छ ।

सेप्टेम्बरमा दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारतबाट १७ हजार ४२५ पर्यटक आएका छन् । श्रीलङ्काबाट सात हजार १०८, बङ्गलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट आठ पर्यटक नेपाल आएका छन् ।

अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल भित्रिएका छन् । चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक आएका छन् ।

यसैगरी, युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना क्षेत्रबाट पाँच हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्वबाट दुई हजार ६०६ र अफ्रिकी मुलुकबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन् ।

गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन बढे पनि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पर्यटक आगमन प्रभावित भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *