कांग्रेस महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगर्ने र शहरमा पर्चा तथा पोस्टर नटाँस्ने नीति लिएको जनाएको छ।
महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले वातावरणमैत्री प्रचारप्रसारमा जोड दिइएको बताउनुभयो।
उहाँका अनुसार महाधिवेशनमा सहभागी उम्मेदवारलाई प्रचारप्रसारका क्रममा सकेसम्म प्रविधिको प्रयोग गर्न आग्रह गरिएको छ। शहरका भित्तामा प्रचार सामग्री टाँस्ने तथा पर्चा छाप्ने कार्य नगर्नसमेत उम्मेदवारलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो।
कांग्रेसले प्रचारप्रसारका लागि डिजिटल बोर्डको प्रयोग गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित र वातावरणमैत्री बनाउन प्रचार सामग्रीको प्रयोगमा मितव्ययिता अपनाउने नीति लिइएको प्रवक्ता चालिसेले बताउनुभयो।
उहाँले महाधिवेशनको प्रचारप्रसारमा अनावश्यक तामझाम नगरी डिजिटल माध्यमलाई प्राथमिकता दिन उम्मेदवार तथा प्रतिनिधिलाई आग्रह गरिएको जानकारी दिनुभयो।
