बेकरी परिकारको बढ्दो उपभोगसँगै स्वच्छता र गुणस्तरमा जोड
खाद्य स्वच्छता र गुणस्तर
काठमाडौँ, असोज १८ । सहरी जीवनशैलीमा बेकरीजन्य खाद्य पदार्थको उपभोग बढ्दै गएसँगै काठमाडौँ महानगरपालिकाले यसको उत्पादन तथा बिक्री–वितरणमा संलग्न व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सचेत गराउन थालेको छ । महानगरपालिकाले बेकरी व्यवसायमा संलग्न २०७ जनालाई खाद्य स्वच्छता, गुणस्तर र व्यावसायिक जिम्मेवारीका विषयमा तालिम दिएको छ ।
जन्मदिन, विवाह, व्रतबन्ध, पास्नीलगायत विभिन्न उत्सवमा केक काट्ने प्रचलन बढेसँगै बेकरीजन्य परिकारको माग पनि बढिरहेको छ। त्यस्तै, बिहान–बेलुका चियासँग खाने बिस्कुट र कुकीजदेखि पेस्ट्री, डोनट, पफ, स्यान्डविच र केकसम्मका परिकार सहरी उपभोक्ताको दैनिक खानपानसँग जोडिन थालेका छन्। बढ्दो उपभोगसँगै यस्ता खाद्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ र बिक्रीमा स्वच्छता कायम गर्नु आवश्यक देखिएको छ ।
गुणस्तरीय खाद्य पदार्थ उत्पादनका लागि कच्चा पदार्थको छनोटदेखि उत्पादन, प्रशोधन, तापक्रम नियन्त्रण, भण्डारण, प्याकेजिङ, ढुवानी र बिक्रीसम्मका प्रत्येक चरणमा सावधानी अपनाउनुपर्ने महानगरपालिकाका फुड टेक्नोलोजिष्ट भारती अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार बेकरी उत्पादनमा गहुँको पिठो, दूध, मक्खन, अण्डा, बदाम, काजु र भटमासजस्ता एलर्जेन पदार्थ प्रयोग हुने भएकाले तिनको स्पष्ट जानकारी, सही लेबलिङ र उत्पादनका क्रममा एकअर्कामा मिसावट हुन नदिन विशेष ध्यान दिनुपर्छ।
बेकरीजन्य खाद्य पदार्थमा ओसिलो र तातो वातावरणका कारण ढुसी लाग्ने जोखिमसमेत उच्च हुने भएकाले भण्डारणमा विशेष सावधानी आवश्यक रहेको अधिकारीको भनाइ छ। ढुसीका कारण खाद्य पदार्थको स्वाद र गुणस्तरमा असर पर्नुका साथै विषाक्त पदार्थ उत्पन्न हुन सक्ने भएकाले बेकरी वस्तुलाई ओभानो, सफा र हावा आवतजावत हुने स्थानमा भण्डारण गर्न उहाँले व्यवसायीलाई सुझाव दिनुभयो।
तालिममा व्यक्तिगत सरसफाइ, उपकरण तथा कार्यस्थलको स्वच्छता, पानीको गुणस्तर, किट नियन्त्रण, एलर्जेन व्यवस्थापन र क्रस–कन्टामिनेसन रोकथामका विषयलाई व्यवहारिक रूपमा समेटिएको थियो। व्यवसाय सञ्चालनका क्रममा देखिने जोखिम पहिचान गरी त्यसलाई नियन्त्रण गर्ने र सुधारका उपाय अवलम्बन गर्ने विषयमा पनि व्यवसायीलाई जानकारी दिइएको थियो।
प्रशिक्षक एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रक्षा न्यौपानेका अनुसार तालिममा बेकरी व्यवसायमा खाद्य स्वच्छताको अनुपालनसँगै व्यावसायिक जिम्मेवारीका विषयमा विशेष जोड दिइएको थियो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने खाद्य व्यवसायमा स्वच्छता र गुणस्तरलाई व्यवसायको अभिन्न पक्षका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ।
बेकरी उत्पादनमा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने विषयलाई पनि तालिममा प्राथमिकता दिइएको थियो। प्रशिक्षक नविन कर्माचार्यका अनुसार उत्पादनको नाम, प्रयोग गरिएका सामग्री, उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मिति वा ‘बेस्ट बिफोर’ मिति, ब्याच नम्बर, उत्पादकको नाम तथा ठेगाना र भण्डारण विधिजस्ता विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। यस्ता विवरणले उपभोक्तालाई आफूले खरिद गर्ने खाद्य पदार्थका बारेमा सूचित निर्णय लिन सहज बनाउने उहाँले बताउनुभयो।
तालिममा खाद्य रङ, स्वाद तथा प्रिजरभेटिभको सुरक्षित प्रयोगका विषयमा समेत जानकारी दिइएको थियो। अनुमति प्राप्त पदार्थ तोकिएको मात्रामा मात्र प्रयोग गर्ने, प्रतिबन्धित रसायन प्रयोग नगर्ने तथा बेकरी उत्पादनमा ट्रान्सफ्याटको मात्रा घटाउने विषयमा व्यवसायीलाई सचेत गराइएको थियो। हाइड्रोजेनेटेड वनस्पति घिउको प्रयोग सकेसम्म न्यूनीकरण गर्नुपर्नेमा पनि प्रशिक्षकले जोड दिएका थिए।
त्यसैगरी, बेकरी उत्पादनको प्याकेजिङमा खाद्य–ग्रेडका सुरक्षित सामग्री प्रयोग गर्नुपर्ने विषयलाई पनि तालिममा समेटिएको थियो। धुलो, ब्याक्टेरिया तथा अन्य बाह्य प्रदूषणबाट खाद्य पदार्थलाई जोगाउने प्याकेजिङ सामग्रीको छनोट र प्रयोगसमेत खाद्य स्वच्छताको महत्वपूर्ण पक्ष भएकाले यसलाई व्यावसायिक दायित्वका रूपमा लिन व्यवसायीलाई आग्रह गरिएको थियो।
महानगरपालिकाले खाद्य स्वच्छतालाई केवल अनुगमन र कारबाहीको विषय नबनाई व्यवसायीको क्षमता अभिवृद्धिसँग जोडेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसअघि तन्दुरी तथा मध्यम भोजनालय, मिठाई पसल, मासु व्यवसाय, होटल तथा रेस्टुरेन्ट, विद्यालयका चमेना गृह, अस्पतालका भोजनालय तथा चमेना गृह, क्याटरिङ तथा ब्याङ्क्वेट, मौलिक तथा रैथाने खाना, दूध तथा दुग्धजन्य पदार्थ र मःम व्यवसायमा आबद्ध व्यवसायीलाई समेत खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ। यस्ता तालिमबाट लाभान्वित व्यवसायीको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको महानगरपालिकाले जनाएको छ।
कृषि तथा पशुपन्छी विभागको ‘स्वच्छ भान्छा’ स्वर्णिम योजनाअन्तर्गत खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि सञ्चालन भइरहेको ‘खाद्य स्वच्छता प्रवर्द्धन शिविर’ अर्थात् ‘फुड सेफ्टी बुट क्याम्प’ कार्यक्रमअन्तर्गत बेकरी व्यवसायीलाई तालिम दिइएको हो। बेकरी उद्योगसम्म आइपुग्दा यो कार्यक्रमको ११औँ संस्करण हो भने चालु आर्थिक वर्षको पहिलो संस्करण हो ।
महानगरपालिकाले व्यावसायिक खाद्य सेवामा खाद्य स्वच्छताको प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएमा व्यवसायीको कार्यशैलीसँगै उपभोक्ताको खाद्य आचरणमा समेत सुधार आउने अपेक्षा गरेको छ। व्यवसायबाट सुरु हुने खाद्य स्वच्छता र सचेतना व्यक्तिसम्म हुँदै परिवार–परिवारमा विस्तार भएमा सहरी समुदायको खाद्य सुरक्षा र स्वास्थ्य संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने महानगरपालिकाको विश्वास छ ।
