दुई दिनको गिरावटपछि नेप्से सुध्रियो, जीवन बीमा उपसमूह सर्वाधिक चम्कियो

काठमाडौं,२० असाेज । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार भने बढेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.०० अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार ३ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३५९ स्टकको ४१ हजार ६०७ पटकको कारोबारमा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको ८९ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन त्रिशूली जलविद्युत कम्पनीको शेयरमूल्य ५.११ प्रतिशतले बढेको छ, जुन सर्वाधिक वृद्धि हो। मूल्य बढेका अन्य स्टकको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रह्यो। घाटातर्फ सर्वोत्तम पेन्ट्सको शेयरमूल्य करिब ५ प्रतिशत र एआईबिएल ग्रोथ फन्डको इकाईमूल्य करिब साढे ४ प्रतिशतले घटेको छ, तर समग्रमा घटेका स्टकको गिरावट दर ५ प्रतिशतभन्दा कम रह्यो।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो (रु. २३ करोड ९१ लाख) लगातार दोस्रो दिन पनि शीर्षमा रह्यो भने लिबर्टी इनर्जी (करिब रु. १४ करोड) र हिमाल दोलखा हाइड्रोपावर (साढे ९ करोड) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुईको घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४१.१० अंकले बढेको छ भने लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *