कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदानका लागि लाइन, आजै मतगणना गर्ने तयारी
काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानैदेखि महाधिवेशन प्रतिनिधि मतदान गर्न लाइनमा लागेका छन्। निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ भने मतदान सकिएलगत्तै मतगणना थाल्ने तयारी गरिएको छ।
बिहीबार मतदान हुन नसकेपछि आज बिहानदेखि मतदान प्रक्रिया अघि बढाउन लागिएको हो। दशैँका लागि घर फर्कनुपर्ने प्रतिनिधिहरू मतदान गरेर गन्तव्यतर्फ लाग्ने तयारीमा छन्। मतदान एक दिन पछि सरेपछि महाधिवेशन प्रतिनिधिमा फेरि उत्साह देखिएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खराब मौसम, प्राविधिक समस्या र साँझ मतदान सुरु गर्दा राति प्रतिनिधिलाई असहज हुने अवस्थालाई ध्यानमा राखेर मतदान शुक्रबार बिहानका लागि सारिएको हो। उहाँले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिनुभयो।
निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भएको बताउनुभयो। उम्मेदवार र मतदाता धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको र अहिले ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको उहाँले जानकारी दिनुभयो।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि रहेका छन्। यसअघि सार्वजनिक विवरणमा मतदानका लागि ७ हजार २५५ प्रतिनिधि सहभागी हुने उल्लेख गरिएको थियो।
मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहनेछ।
निर्वाचन समितिले प्रदेश तथा प्रतिनिधित्वका आधारमा विभिन्न मतदान केन्द्र तोकेको छ। मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने समितिले जनाएको छ।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी मतगणना सुरु गर्ने जनाएको छ।
