बूढीगण्डकी बाढीमा पाँच जना बेपत्ता, घर र पुलमा व्यापक क्षति

काठमाडौँ, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बूढीगण्डकी नदीमा आएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्। उनीहरू चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङका बासिन्दा हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भेडीगोठमा रहेका बेला उनीहरू बाढीमा परी बेपत्ता भएका हुन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे तथा पक्की पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा क्षति पुर्‍याएको जानकारी दिनुभयो। उहाँका अनुसार धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र आसपासका सातदेखि आठ वटा घर बगाएको छ।

चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको प्राधिकरणले जनाएको छ। धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगेको छ।

त्यस्तै, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० देखि २२ घर जोखिममा परेका छन्। बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण दुई वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ।

बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन्। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *