दसैँ–तिहार लक्षित ट्राफिक प्रहरीको सक्रियता बढ्यो, सुरक्षित यात्राका लागि विशेष निगरानी

काठमाडौं, २६ असोज । दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि सचेतना अभियान तीव्र बनाएको छ।

चाडपर्वका बेला सवारीसाधनको चाप र यात्रुको आवागमन बढ्ने भएकाले सम्भावित दुर्घटना रोक्न तथा यात्रालाई सहज र सुरक्षित बनाउन उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार यात्रुको बढी आवागमन हुने क्षेत्र, मुख्य सडक तथा सवारीसाधन सञ्चालनका प्रमुख स्थानमा केन्द्रित भएर अभियान अघि बढाइएको छ।

काठमाडौंको नयाँबसपार्क, नागढुंगा र कोटेश्वरलगायत क्षेत्रमा ट्राफिक व्यवस्थापन र निगरानी बढाइएको छ। विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने नयाँबसपार्क तथा उपत्यका प्रवेश गर्ने र बाहिरिने प्रमुख नाका नागढुंगा र कोटेश्वरमा विशेष ध्यान दिइएको छ।

अभियानअन्तर्गत सार्वजनिक सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम, सडक अनुशासन र सुरक्षित यात्राबारे जानकारी दिनुका साथै सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण तथा मादक पदार्थ सेवन (मापसे) जाँचलाई प्राथमिकता दिइएको छ।

“ट्राफिक प्रहरी जहिले पनि सडकमै खटिएको छ। अहिले चाडपर्वको समय सुरु भएकाले हामीले ट्राफिक सचेतना र जनचेतनामूलक कार्यक्रमलाई थप अघि बढाएका छौँ। हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो,” वरिष्ठ उपरीक्षक काफ्लेले भन्नुभयो।

उहाँका अनुसार चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले सवारीसाधनको सुरक्षित सञ्चालन, चालकको जिम्मेवारी र ट्राफिक नियमको पालना विशेष महत्त्वपूर्ण हुन्छ। यात्रुलाई गन्तव्यसम्म सुरक्षित रूपमा पुर्‍याउन सम्भावित दुर्घटना रोक्ने उपायमा जोड दिइएको उहाँले बताउनुभयो।

माइकिङमार्फत चालक र यात्रुलाई सचेतना

ट्राफिक प्रहरीले सडक तथा सवारीसाधन सञ्चालन हुने प्रमुख स्थानमा माइकिङ गरेर चालक, यात्रु र सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिरहेको छ। यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्ने, सडक अनुशासन कायम राख्ने र यात्राका क्रममा सावधानी अपनाउने विषयमा जानकारी दिइँदै आएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सुरक्षित यात्रा सुनिश्चित गर्न, जिम्मेवार चालकको व्यवहार विकास गर्न र दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

“सुरक्षित यात्रा, जिम्मेवार चालक र दुर्घटनामुक्त सडक निर्माणमा ट्राफिक प्रहरी सक्रिय रूपमा खटिएको छ। चाडपर्व सबैको उल्लासमय तरिकाले बितोस् भन्ने ट्राफिक प्रहरीको चाहना हो,” उहाँले भन्नुभयो।

प्रवक्ता सुवेदीका अनुसार प्रहरी परिचालनसँगै जनचेतनामूलक गतिविधिलाई पनि प्राथमिकता दिइएको छ। सडकमा हुन सक्ने जोखिमबारे चालक तथा यात्रुलाई समयमै जानकारी गराउँदा दुर्घटना रोकथाममा सहयोग पुग्ने प्रहरीको अपेक्षा छ।

सवारीसाधन परीक्षण र मापसे जाँचमा जोड

चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेको सङ्ख्या बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारीसाधनको यान्त्रिक अवस्था र चालकको जिम्मेवारीमा विशेष ध्यान दिएको छ। अभियानका क्रममा सवारीसाधनको अवस्था परीक्षण गर्नुका साथै चालकले मादक पदार्थ सेवन गरे–नगरेको जाँचसमेत गरिँदै आएको छ।

प्रहरीले यात्रा सुरु गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न, तीव्र गतिमा सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नराख्न र ट्राफिक सङ्केतको पालना गर्न आग्रह गरेको छ। सार्वजनिक सवारीसाधनमा यात्रु सुरक्षित रूपमा चढाउने र ओराल्ने व्यवस्था मिलाउन पनि चालकलाई सचेत गराइएको छ।

लामो दूरीको यात्रामा चालकको सतर्कता, सवारीसाधनको अवस्था र सडकमा अपनाइने सावधानीले यात्राको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसतर्फ विशेष ध्यान दिन प्रहरीले अनुरोध गरेको छ।

सुरक्षित यात्राका लागि नागरिकलाई आग्रह

दसैँ, तिहारका बेला परिवार तथा आफन्तसँग भेटघाट गर्न, घर फर्किन र धार्मिक तथा पर्यटकीय स्थलमा पुग्न नागरिकको आवागमन बढ्ने गर्दछ। यस्तो समयमा सडकमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले चालक, यात्रु र पैदलयात्री सबैले सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न तथा थकान महसुस भएमा चालकले विश्राम लिन आग्रह गरेको छ। यात्रुलाई पनि सवारीसाधन चढ्दा र ओर्लँदा सावधानी अपनाउन तथा यात्राका क्रममा चालकलाई अनावश्यक दबाब नदिन अनुरोध गरिएको छ।

चाडपर्वलाई सुरक्षित, व्यवस्थित र उल्लासमय बनाउन प्रहरीको निगरानीसँगै नागरिकको जिम्मेवार व्यवहार पनि आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व अवधिभर यात्रुको सहजता र सडक सुरक्षालाई ध्यानमा राख्दै सचेतनामूलक गतिविधि तथा आवश्यक जाँचलाई निरन्तरता दिएकाे जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *