बाढीले बाटो र पुल बगाएपछि मनास्लुका लाखौँ किलो स्याउ गोदाममै थन्किए

गोरखा, १२ कात्तिक । बूढीगण्डकीमा आएको बाढीले पुल र सडक बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका लाखौँ किलो स्याउ गोदाममै थन्किएका छन्। ढुवानीको विकल्प नहुँदा स्याउ कुहिन थालेको किसान तथा व्यवसायीले गुनासो गरेका छन्।

गत असोज २५ गते चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी किनारका पुल तथा सडक बगाएको थियो। त्यसले उत्तरी गोरखाको ‘लाइफलाइन’ मानिने बेनिघाट–आरुघाट–लार्के सडकसमेत अवरुद्ध बनाएको छ।

गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा पैदल आवतजावतका लागि अस्थायी बाटो खुलाइए पनि खच्चडमार्फत स्याउ ढुवानी गर्न सक्ने अवस्था नरहेको व्यवसायी लाक्पा डुन्डुप लामाले बताउनुभयो।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा दुई हजार ६५० मिटर उचाइमा रहेको उहाँको ‘इन गोरखा प्रोडक्ट प्रालि’को बगैँचामा यस वर्ष १२ हजार ५०० बोटबाट एक लाख किलो स्याउ उत्पादन भएको छ। गाला, गोल्डेन, रेड डिलिसियस, किङ डिलिसियस र फुजी जातका स्याउ उत्पादन भएका हुन्।

लामाका अनुसार फुजी जातको स्याउ टिप्न बाँकी रहे पनि अन्य जातका स्याउ टिपिसकिएको छ। ढुवानी गर्न नसक्दा गाला र गोल्डेन डिलिसियस जातका स्याउ बिग्रन थालेका छन्। भदौ २१ गते थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएपछि विद्युत् अभावमा स्याउ सुकाउने ड्रायरसमेत चल्न सकेको छैन।

मनास्लु क्षेत्रमा स्याउ ढुवानीको समस्या हरेक वर्ष हुने गरेको छ। नाम्रुङ र आसपासका क्षेत्रबाट खच्चडमार्फत बजारसम्म स्याउ पुर्‍याउन करिब एक साता लाग्ने र त्यसक्रममा २० देखि २५ प्रतिशत स्याउ खेर जाने किसान बताउँछन्। यस वर्ष बाढीले बाटो र पुलसमेत बगाएपछि ढुवानी झनै कठिन बनेले ठूलो परिमाणमा स्याउ खेर जाने चिन्ता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *