कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

काठमाडौं, १८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरणलाई सुशासनका प्रमुख आधार बताउनुभएको छ।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि सुशासन कायम गर्नु रहेको उल्लेख गर्नुभयो।

उहाँले तीनै तहका सरकार जनताका अपेक्षा पूरा गर्न गम्भीर बन्नुपर्ने बताउँदै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद तथा जिम्मेवारीलाई व्यक्तिगत सुविधा नभई जनसेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गर्नुभयो।

प्रशासकीय भवन भौतिक संरचना मात्र नभई जनताको विश्वासको केन्द्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारस्तम्भ भएको राष्ट्रपति पौडेलको भनाइ थियो। भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री हुनुपर्ने उहाँले बताउनुभयो।

प्रशासनिक कार्यशैलीलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा तथा गुनासो सुनुवाइ प्रणाली प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *