पूर्वमन्त्री बास्कोटाको जीवनी ‘एक निष्ठावान् यात्री’ लोकार्पण
काठमाडौँ, १२ मङ्सिर । पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाको जीवनी तथा मूल्याङ्कनमा आधारित पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक गरिएको छ । दीपकप्रकाश बास्कोटा फाउण्डेशनद्वारा राजधानीमा आयोजित एक समारोहका बीच प्रथम राष्ट्रपति डा. रामवरण यादवलगायतले उक्त पुस्तकको संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले चिया उद्योगको स्थापनामार्फत पूर्वमन्त्री बास्कोटाले किसानलाई दिनुभएको सन्देश निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । बास्कोटाले राजनीति, सहकारी र आध्यात्मिक क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँले पछिल्लो समय शरीर र मनलाई व्यवस्थित गर्ने आध्यात्मिक अभियानमा बास्कोटाको सक्रियताले समाजमा अझ बढी योगदान पुगिरहेको उल्लेख गर्नुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तीर्थ खनियाँले यो कृतिले नेपाललाई विश्वकै आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । राजनीति र सहकारी क्षेत्रमा सक्रिय सरल व्यक्तित्व बास्कोटामा महर्षि महेश योगीले भविष्यको आशा देखेरै नेपालमा अभियानको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनुभएको हुनसक्ने उहाँको भनाइ थियो ।
यसैगरी, नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक प्रा. डा. मृगेन्द्रबहादुर कार्कीले बास्कोटाको जीवनगाथा विश्वविद्यालयको जर्नलमा प्रकाशित गर्न योग्य रहेको बताउँदै त्यसका लागि शोधमूलक लेख तयार पार्न सुझाव दिनुभयो । विदेशी विद्यार्थीहरू ग्रामीण परिवेश बुझ्न गाउँ पस्ने तर स्वदेशकै सहरी विद्यार्थीहरू सामान्य असुविधाको बहाना बनाएर गाउँ जान नमान्ने वर्तमान अवस्थामा बास्कोटाको संघर्षशील जीवनीले नयाँ पुस्तालाई गतिलो पाठ सिकाउने उहाँले बताउनुभयो ।
विश्वव्यापी महर्षि वैदिक अभियानका अन्तर्राष्ट्रिय निर्देशक अमेरिकी नागरिक डा. किङ्स्ली ब्रुक्सले नेपालमा वैदिक पुनःजागरणको अभियान चलाउन बास्कोटाले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो । भावातीत ध्यान, वैदिक यज्ञ र जैविक खेतीमार्फत नेपाललाई वैदिक राष्ट्र बनाउने बाटोमा भइरहेका प्रयासप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।
समारोहमा पूर्वमन्त्री बास्कोटाले सहकारी क्षेत्रको सुधारका लागि विभिन्न राजनीतिक दललाई आफूले दिएका सुझाव कार्यान्वयन नहुँदा अहिले यस क्षेत्रमा समस्या देखिएको बताउँदै ती सबै सन्दर्भ पुस्तकमा समेटिएको जानकारी दिनुभयो ।
पुस्तकका लेखक भरतराज पौडेलले तीन वर्षको समय लगाएर स्वतन्त्र रूपमा कृति तयार पारेको बताउनुभयो । अढाइ वर्षको उमेरमा बुवा र १३ वर्षमा आमा गुमाएर १८ वर्षको उमेरबाट औपचारिक अध्ययन सुरु गर्दै बास्कोटाले हासिल गर्नुभएका उपलब्धिहरू पुस्तकमा समेटिएको लेखक पौडेलले उल्लेख गर्नुभयो । कार्यक्रममा संस्कृतिविद् डा. घनश्याम खतिवडा तथा फाउण्डेशनका सञ्चालकद्वय डम्बरकुमारी बास्कोटा र नवीन बास्कोटाले पुस्तकका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो ।
फाउण्डेशनले प्रकाशन गरेको ५६८ पृष्ठको उक्त पुस्तकलाई जीवनी, आध्यात्मिक, मूल्याङ्कन र सहकारीसहित नौ खण्डमा विभाजन गरिएको छ । पुस्तकको मूल्य ७०० रुपैयाँ तोकिएको छ ।
