सुन्तला खेतीले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन
व्यावसायिक सुन्तला खेती
काठमाडौँ, मंसिर ९ । इलामको रोङ गाउँपालिका ६ स्थित सलकपुरमा व्यावसायिक सुन्तला खेती स्थानीय अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको छ । सुन्तला बिक्रीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेपछि स्थानीयको आयआर्जन बढेको छ भने सुन्तला बगान अवलोकन र स्वाद लिन आउने पर्यटकका कारण पर्यटन गतिविधिसमेत विस्तार हुँदै गएको छ ।
पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरमा करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला यहाँका बगान सुन्तला पाकेर पहेँलपुर बनेका छन् । बोटमै फलेका सुन्तला टिपेर खाने, बगानमा रमाउने र तस्बिर खिच्ने उद्देश्यले आन्तरिक तथा भारतीय पर्यटकको आगमन बढेको छ ।
रोङ गाउँपालिका–६ का वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक औसत एक सय पर्यटक पुग्ने गरेका छन्। वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक ४५० देखि ६०० मेट्रिक टनसम्म सुन्तला उत्पादन हुन्छ। मौसम अनुकूल हुँदा र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ। सुन्तला खेतीबाट एक सयभन्दा बढी घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्।
यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बगानबाटै बिक्री हुने गरेको छ। झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरसम्म यहाँको सुन्तला पुग्ने गरेको छ। सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा समेत सलकपुरको सुन्तलाका रूपमा यसको बिक्री तथा प्रचार हुँदै आएको छ ।
सुन्तला खेतीसँगै ग्रामीण पर्यटन पनि विस्तार भएको छ । इलाम, झापा, मोरङ र सुनसरीका साथै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा घरबास (होमस्टे) सञ्चालनमा छन्। विशेषगरी शुक्रबार र शनिबार घरबासमा पाहुनाको चाप बढी हुने गरेको छ ।
सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन्। बजारमा प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म पर्ने सुन्तला बगानमै पुग्ने पर्यटकले १३० रुपैयाँमा किन्न पाउने खड्काले बताउनुभयो। पर्यटकसँगै व्यापारीसमेत बगानमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । यसले उत्पादकलाई बजारसम्म पुर्याउने झन्झट कम गर्नुका साथै उपभोक्ताले ताजा सुन्तला सिधै खरिद गर्ने अवसर पाएका छन् ।
शुक्रबार र शनिबार निन्दा-सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन उल्लेख्य हुने गरेको छ। ती दुई दिनमा झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतका विभिन्न स्थानबाट गरी ३०० देखि ५०० जनासम्म पर्यटक सलकपुर पुग्ने गरेको खड्काले जानकारी दिनुभयो । उहाँको आफ्नै १० रोपनी जमिनमा सुन्तला बगान छ। यस वर्ष विगतका तुलनामा उत्पादन राम्रो भएको उहाँले बताउनुभयो ।
सुन्तला बगानको अवलोकनसँगै पर्यटकले नजिकै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यसमेत हेर्न पाउँछन् । कृषि उत्पादन, प्राकृतिक सौन्दर्य र घरबासलाई एकैसाथ जोड्न सके सलकपुरको पर्यटन सम्भावना अझ विस्तार हुने देखिएको छ ।
सलकपुरमा सुन्तला खेतीको इतिहास पनि पुरानो छ । विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गर्नुभएको थियो। दार्जिलिङबाट ल्याइएका बिरुवा रोपेर सुरु गरिएको खेतीले अहिले व्यावसायिक रूप लिएको छ। पछिल्लो समय पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिन थालेका छन्। पुराना बोट रोगका कारण मरेपछि नयाँ बगान विस्तार गर्ने क्रमसमेत बढेको छ ।
