रास्वपाद्वारा चितवनमा ‘ब्लुबस’ सञ्चालन

चितवन, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको छ ।

सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उहाँले ब्लु बस सञ्चालनमा ल्याएकाे बताउनुभयाे । निःशुल्क ‘ब्लुबसले जिल्लावासी महिलालाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन”, उहाँले भन्नुभयो,“तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने देख्नुपर्छ र देखाउनुपर्छ ।”

सभापति लामिछानेले आजबाट एउटा बसबाट सुरुआत गरेर भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस सङ्ख्या थप्ने बताउनुभयो ।

आजैबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई ‘मोबाइल क्लिनिक’को उपचार सेवा उपलब्ध गराउने र गम्भीर बिरामीलाई अस्पतालसम्म सहजीकरण गरिदिने उहाँको भनाइ छ ।

चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उहाँले घोषणा गर्नुभयो ।