अमेरिका–इरान तनावको प्रत्यक्ष असर: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि

 

न्युयोर्क । अमेरिका र इरानबीच पुनः सुरु भएको सैन्य तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ । मध्यपूर्वमा युद्ध चर्किने डरका बीच मंगलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य २ प्रतिशतले बढेर प्रतिब्यारेल ९२ डलर नाघेको छ ।

पछिल्लो एक महिनाभन्दा लामो समयपछि अमेरिका र इरानबीच भएको प्रत्यक्ष गोलाबारीका कारण तेलको मूल्यमा यो वृद्धि देखिएको हो । सोमबारको तुलनामा मंगलबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९२.३१ डलर पुगेको छ, जबकि सोमबार बजार बन्द हुँदा यो मूल्य ८८ डलर आसपास थियो ।

आक्रमण र प्रत्याक्रमणको शृङ्खला
अमेरिकाले इरानको लारक टापु मा आक्रमण गरेपछि र जवाफमा इरानले जोर्डनस्थित अमेरिकी सेनाले प्रयोग गर्ने दुईवटा आधार शिविरहरू (किङ हुसेन र अल अजराक) मा प्रहार गरेपछि तनाव उत्कर्षमा पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा तेहरानको यस कदमको कडा जवाफ दिने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, “हामी उनीहरूलाई कडा प्रहार गर्नेछौँ ।”

यसैबीच, बेलायती शाही नौसेनाको व्यापारिक निगरानी केन्द्रका अनुसार हर्मुज जलडमरू पार गर्दै गरेको एउटा तेल ट्याङ्करमा तीनवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरिएको छ । यस आक्रमणमा मानवीय क्षतिको विवरण नआए पनि कुनै पनि समूहले यसको जिम्मेवारी लिएका छैनन् ।

हर्मुज जलडमरूमा अवरोध र अनिश्चितता
विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलडमरूमा भएको अवरोधले लगानीकर्ताहरू चिन्तित बनेका छन् । अमेरिका र इरानबीचको ६० दिने युद्धविराम अगस्टको मध्यमा सकिएपछि यो मार्गमा तेलको ओसारपसार असहज बन्दै गएको छ ।

युद्धअघि दैनिक १३० जहाज ओहोरदोहोर गर्ने यो मार्गमा अहिले इरानी ड्रोन र अमेरिकी नौसेनाको डरले धेरैजसो जहाजहरूले आफ्नो ‘अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम’  बन्द गरेर लुकीछिपी यात्रा गरिरहेका छन् ।

विश्लेषकहरूको धारणा
आईजी मार्केटका वरिष्ठ बजार विश्लेषक टोनी साइकामोरका अनुसार छोटो अवधिमा तेलको मूल्य अझै बढ्न सक्ने देखिएको छ । “ताजा झडप र थप सैन्य कारबाहीको जोखिमका कारण अहिले तेलको मूल्य बढ्ने बाटो नै सजिलो देखिन्छ,” उहाँले अल जजिरासँग भन्नुभयो, “तर यदि यो तनाव केही दिनमा शान्त भयो र ट्याङ्करहरूको आवतजावत सहज भयो भने बढेको मूल्य फेरि घट्न पनि सक्छ ।”

अर्का विश्लेषक क्याभोनिकले भने सन् २०२७ सम्म ‘न युद्ध, न शान्ति’ को यस्तै अनिश्चित अवस्था रहन सक्ने र यसले तेल बजारलाई लामो समयसम्म प्रभावित पार्ने प्रक्षेपण गर्नुभएको छ ।