भोटेकोशी बाढी: ‘राष्ट्रिय शोक दिवस’ घोषणा गर्न सांसदहरूको माग
काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति पुर्याएपछि सांसदहरूले सरकारसँग ‘राष्ट्रिय शोक’ घोषणा गर्न माग गरेका छन्। राष्ट्रिय सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले मृतकको सम्मान र विपद्को संवेदनशीलतालाई मध्यनजर गर्दै राष्ट्रिय झण्डा आधा झुकाउन र शोक दिवस मनाउन माग गरेका हुन्।
नेपाली कांग्रेसका सांसद युवराज शर्माले बाढी आएको दिन भदौ १० गतेलाई ‘राष्ट्रिय शोक दिवस’ घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। “जे नहुनु थियो, त्यो भइसक्यो। अब सरकारको सम्पूर्ण ध्यान खोजी, उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रचारभन्दा पनि परिणाममुखी कार्य र विस्थापितहरूको सुरक्षित व्यवस्थापन अहिलेको प्राथमिकता हुनुपर्छ।”
नेकपाकी सांसद मदन कुमारी शाह ‘गरिमा’ ले पनि एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक व्यक्त गर्न माग गर्नुभयो। उहाँले विकसित मुलुकहरूले गरेको प्रदूषण र त्यसका कारण भएको जलवायु परिवर्तनको मूल्य नेपाल जस्ता गरिब देशले चुकाउनुपरेको भन्दै यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा जोड दिनुभयो।
त्यसै गरी, अर्का सांसद सुरेशकुमार आलेमगरले भूमण्डलीय तापमान वृद्धिका कारण बेमौसमी विपद्का घटना बढेको उल्लेख गर्दै यसको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी हालसम्म ९८७ जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइतेको उपचार भइरहेको छ।
संसद्मा सांसदहरूले बेपत्ताको खोजीलाई तीव्रता दिन र घरबारविहीन भएकाहरूलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन्।