पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन संघकाे आग्रह
काठमाडाैं, ३२ साउन । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ ।
संघले आज पत्रकार सम्मेलन गर्दै पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो ।
संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताउनुभयो । “उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैँयासम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैँयासम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैँयासम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,” उहाँले भन्नुभयो ।
संघले पानीको बजार अनुगमन गर्नका लागि संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।
उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गर्नुभएको छ ।
हाल काठमाडौँ उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ ।