काठमाडौँको मध्यभागमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण गरिँदै, बालाजुदेखि सिंहदरबारसम्म जोडिने

काठमाडौँ, १२ जेठ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको चक्रपथभित्र विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउन र सहरी सौन्दर्य अभिवृद्धि गर्न सहरको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। विद्युत् खपत बढाउने र तारको जालो हटाउने लक्ष्यका साथ यो महत्त्वाकाङ्क्षी परियोजना अघि बढाइएको हो।

प्रस्तावित योजनाअनुसार यो प्रसारण लाइन बालाजु सवस्टेशनबाट सुरु भई महाराजगञ्ज, राजदरबार र रत्नपार्क हुँदै सिंहदरबारसम्म पुग्नेछ। ‘डबल सर्किट’ रहने यस भूमिगत प्रसारण लाइनको कुल लम्बाइ ११ दशमलव ९२ किलोमिटर हुने प्राधिकरणले जनाएको छ।

आयोजनाअन्तर्गत काठमाडौँका मुख्य चार स्थानमा नयाँ सवस्टेशनहरू निर्माण गरिनेछन्। महाराजगञ्ज, राजदरबार र रत्नपार्कमा १३२/११ केभी क्षमताका सवस्टेशन बन्नेछन् भने सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गरिने कार्यसूची छ। यस प्रसारण लाइनबाट ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राविधिक क्षमता रहनेछ।

प्राधिकरणले यो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि आवश्यक निर्माण अनुमतिका निम्ति विद्युत् विकास विभागमा आवेदन दिइसकिएको छ। आयोजना निर्माणका लागि कुल १ दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्ने र लाइनमा २१ वटा ‘ज्वाइन्ट पिट्स’ हरू निर्माण गरिनेछ, जसको अधिकतम दूरी ५०० मिटर रहनेछ।

विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम भूक्षय, बाढी र वायु प्रदूषण जस्ता वातावरणीय पक्षमा प्रतिकूल असर नपर्ने गरी निर्माण कार्य अघि बढाइनेछ। विभागले यसबारे सरोकारवालाहरूबाट आवश्यक सुझाव र सल्लाह समेत माग गरेको छ।

प्राधिकरणले यसअघि नै रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा भूमिगत वितरण प्रणालीको काम सुरु गरिसकेको छ भने पोखरा र भरतपुरमा पनि यस्ता आयोजनाहरू अन्तिम चरणमा छन्। सहरी क्षेत्रमा विद्युत् सेवालाई आधुनिक र सुरक्षित बनाउन यो भूमिगत प्रसारण लाइन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।