प्राविधिक शिक्षालाई श्रम र समृद्धिसँग जोड्ने नयाँ विधेयक तयार, मन्त्रालयद्वारा सुझाव आह्वान
काठमाडौँ, १२ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिमसँग सम्बन्धित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको नयाँ विधेयकको मस्यौदामा सरोकारवालाहरूसँग सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासलाई श्रम बजार, रोजगारी र उत्पादनसँग प्रत्यक्ष जोड्ने लक्ष्यका साथ मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा विधेयकको मस्यौदा सार्वजनिक गर्दै यसमा परिमार्जनका लागि आवश्यक राय–सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि आवश्यक पर्ने आधारभूतदेखि उच्चस्तरसम्मको दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो एकीकृत विधेयक तयार पारिएको मन्त्रालयले जनाएको छ।
प्रस्तावित नयाँ विधेयकले हाल कार्यान्वयनमा रहेको ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई खारेज गर्ने प्रस्ताव गरेको छ। झण्डै चार दशक पुरानो ऐनको सट्टा नयाँ समयसापेक्ष एकीकृत कानुन ल्याउन लागिएको हो।
नयाँ व्यवस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई थप जिम्मेवार र बजारमुखी बनाउने प्रयास गरिएको छ। यसअन्तर्गत परिषद्लाई श्रम बजारको आवश्यकताका आधारमा नयाँ पाठ्यक्रम तयार गर्ने, शिक्षण संस्थाहरूलाई सम्बन्धन दिने र शिक्षालयहरूको मापदण्ड निर्धारण गर्ने स्पष्ट अधिकार प्रत्यायोजन गरिएको छ।
मन्त्रालयका अनुसार प्राविधिक शिक्षालाई पहुँचयोग्य र व्यवस्थित बनाउँदै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न यो विधेयक महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। प्राप्त हुने रचनात्मक सुझावहरूलाई समेटेर विधेयकलाई अन्तिम रूप दिई संसद्मा पेस गरिनेछ।