जुगलकाे आलुले काठमाडौंमा बनाउँदै ब्रान्ड, गाउँपालिकाका कान्छी पुर्व उपाध्यक्ष खटिंदै
काठमाडौं, ७ भदाै । सिन्धुपाल्चाेककाे विकट मानिने जुगल गाउँपालिकाकाे किसानले उत्पादन गरेकाे आलुलाई काठमाडाैंमा ब्रान्डकारूपमा स्थापित गर्न लागिपरेकी छन् सिर्जना तामाङ ।
नेपालकै कान्छी गाउँपालिका उपाध्यक्षका रूपमा परिचित जुगल गाउँपालिकाकी कान्छी पूर्व उपाध्यक्ष सिर्जना तामाङ अहिले जुगलकाे किसानले उत्पादन गरेकाे आलुलाई ब्रान्ड बनाउनकै निम्ति अहाेरात्र खटिएकी छन् ।
भक्तपुर गठ्ठाघरकाे एक सटरमा सिन्धुपाल्चाेककाे जुगलकाे आलु बजारीकरणमा खटिएकी उनकाे दैनिकी अहिले बिहानैदेखि आलुकाे बिक्री गर्दै बित्ने गरेकाे छ ।
शहरमा अर्ग्यानिक आलुकाे माग अधिक भएकाे र सिन्धुपाल्चोकको प्रसिद्ध मुडेको आलु पछि राजधानीमा जुगलको अर्ग्यानिक आलुले राम्राे बजार लिएकाे सिर्जना तामाङ बताउँछिन् । उनका अनुसार स्थानीय सरकारले सकारात्मक पहल गर्ने हाे भने आलु किसानले आलुमै आत्मनिर्भर हुनसक्ने अवस्था रहेकाे छ ।
उनले भने, अर्ग्यानिक आलुकाे माग शहरकाे बजारमा अत्यधिक पाएँ त्यसैले अबकाे दिनमा आलु उत्पादन गर्ने किसानहरूलाई प्रोत्साहनका साथै अर्ग्यानिक बस्तुकाे उत्पादनमा जाेड दिन ग्रामीणभेगमा सन्देश पुर्याउँछु र यसमा स्थानीय सरकारकाे दायित्व पनि रहन्छ ।
तामाङ २०७४ सालमा नेकपा एमालेबाट जुगल गाउँपालिकाकाे उपाध्यक्षमा निर्वाचित हुँदा २३ वर्षकी थिइन ।