सुनसरीमा सामाजिक सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता

सुनसरी,  साउन २४ । सुनसरी जिल्लामा सामाजिक सद्भाव, शान्ति र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरु तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित संयुक्त भेलामा सहभागी हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक अठोट गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा गत साउन १० गते राति भएको दुखद घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै यो छलफल आयोजना गरिएको हो ।

गत साउन १० गते आइतबार राति साउने सोमबारको अवसरमा शिव मन्दिरमा जल चढाउन कोशी नदीबाट जल ल्याउने तयारीमा रहेका युवाहरूले ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो। सोही क्रममा भएको झडप र गोली चल्दा घाइते भएका १० जनामध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनापछि जिल्लाको सुरक्षा र सामाजिक सहिष्णुतामा चुनौती थपिएकाले धार्मिक नेतृत्वमार्फत समाजमा शान्तिको सन्देश प्रवाह गर्न खोजिएको हो ।

छलफलका क्रममा सहभागी धर्मगुरुहरूले सुनसरीको ऐतिहासिक सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउन नदिन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। बैठकले समाजमा कुनै पनि प्रकारको नकारात्मक अफवाह फैलिन नदिन र शान्तिपूर्ण वातावरण सुदृढ बनाउन धार्मिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकको सुरक्षा प्रशासनको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै जिल्लामा शान्ति, अमनचयन र आपसी सद्भाव कायम राख्न सबै पक्षबाट रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो। भेलामा उपस्थित धार्मिक तथा सामाजिक अगुवाहरूले समाजलाई सकारात्मक दिशामा डोर्‍याउन र आपसी भाइचारा सुदृढ गर्न ठोस पहल गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।