झापामा पूर्वाधार विकासको गति : एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र सम्पन्न

काठमाडौँ, साउन २५ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा जिल्लाभर ५१ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्पन्न गरेको छ। कार्यालयले पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै सडक सञ्जाल विस्तारसँगै अन्य भौतिक संरचना निर्माणमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत वर्ष ५१ किलोमिटर सडक कालोपत्र हुनुका साथै ३२.८० किलोमिटर सडकमा ग्राभेल गर्ने कार्य पुरा भएको छ । त्यसैगरी, ९.५२ किलोमिटर सडकखण्डमा आरसिसी ढलान गरिएको छ भने ९०० मिटर सडकको मर्मतसम्भार कार्य सम्पन्न भएको छ। सडक पूर्वाधारका अतिरिक्त गत आर्थिक वर्षमा ६ वटा झोलुङ्गे पुल, तीनवटा सरकारी भवन, ४९ वटा सामुदायिक भवन र ११ वटा धार्मिक संरचनाको निर्माण कार्य समेत सम्पन्न गरिएको छ ।

पूर्वाधार विकासकै क्रममा जिल्लाका आठवटा विद्यालयमा भौतिक संरचना निर्माण, एउटा कभर्डहल र अन्य आठवटा विभिन्न भवन तथा पूर्वाधारहरू निर्माण गरिएको प्रमुख महतोले जानकारी दिनुभयो । वित्तीय प्रगतितर्फ गत आर्थिक वर्षका लागि कुल १ अर्ब ५१ करोड १४ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब ५ करोड ४५ लाख ६४ हजार ५४० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। झापामा पछिल्लो समय सडक र सार्वजनिक भवन निर्माणमा देखिएको यो प्रगतिले स्थानीयको जीवनस्तर र आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।