साउनको अन्तिम सोमबार : झरीका बाबजुद पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
काठमाडौँ, साउन २५ । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत मुलुकभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। निरन्तर वर्षा भइरहे तापनि शिवभक्तहरू उत्साहका साथ लामबद्ध भएर मन्दिर प्रवेश गरिरहेका छन् ।
दर्शन व्यवस्थापन र समय
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार, श्रद्धालुहरूको सहजताका लागि बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको छ । मन्दिरका ढोकाहरू आज राति ८ बजेसम्म खुला रहनेछन् भने विशेष पूजाको समय बिहान ८ः३० देखि मध्याह्न १२ बजेसम्म मात्र निर्धारण गरिएको छ।
भक्तजनहरूको चापलाई ध्यानमा राख्दै चारै दिशाबाट लामको व्यवस्था गरिएको छ। कोषले दिएको जानकारी अनुसार, भक्तजनको सङ्ख्या उल्लेख्य भए तापनि दर्शनका लागि लामो समय कुर्नुपर्ने अवस्था छैन।
सुरक्षा र स्वयंसेवा
दर्शन व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारीका साथै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, मन्दिर पहरा गण र नगर प्रहरी तैनाथ छन्। साथै, विभिन्न सामाजिक तथा धार्मिक सङ्घ–संस्थाका स्वयंसेवकहरूले पनि सेवा प्रदान गरिरहेका छन्।
यातायात र स्वास्थ्य सुविधा
तिलगङ्गा, गौशाला, जयवागीश्वरी, चाबहिल र मित्र उद्यान लगायतका क्षेत्रमा सवारी आवागमन व्यवस्थापन गर्न ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहेको छ। दर्शनार्थीको सुविधाका लागि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर तथा प्राथमिक उपचारको व्यवस्था समेत मिलाइएको छ।
अन्य शिवालयमा पनि चहलपहल
पशुपतिनाथका अतिरिक्त काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायतका प्रसिद्ध शिव मन्दिरहरूमा पनि बिहानैदेखि दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ। सुन्दरीजलबाट बोलबम यात्रीहरूले ल्याएको जल पशुपतिनाथमा चढाउने परम्परा अनुसार त्यहाँ पनि भक्तजनको लामो लाम देखिएको छ।