अमेरिकाद्वारा इरानमा हवाई आक्रमण: बालक सहित एकै परिवारका तीनको मृत्यु

 

तेहरान ।  अमेरिकी सेनाले इरानका विभिन्न सामरिक र आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। यस आक्रमणमा परी इरानको क्युसेम  टापुमा एक दम्पती र उनीहरूको दुई वर्षीय बालकको मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकी लडाकु विमानहरूले इरानको दक्षिणी क्षेत्रलाई निशाना बनाएका थिए। क्युसेम टापुमा रहेको एक आवासीय भवनमा बम खस्दा एकै परिवारका तीन सदस्यको ज्यान गएको पुष्टि भएको छ।

आणविक केन्द्र नजिकै विस्फोट
इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबी का अनुसार अमेरिकी सेनाले बुसेहर  प्रान्तका तीन सहर— बुसेहर, जाम र खोर्मोजलाई लक्षित गरी रातभर आक्रमण गरेको थियो। बुसेहर प्रान्त इरानको एक मात्र आणविक ऊर्जा केन्द्र रहेको संवेदनशील क्षेत्र हो।

बुसेहरका डेपुटी गभर्नरले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार उक्त सहरहरूका वरपरका क्षेत्रमा आक्रमण भए पनि त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन।

तेल उद्योगको केन्द्रमा बमबारी
यसैगरी, इरानको तेल उद्योगको मुटु मानिने खुजेस्तान प्रान्तका चार फरक स्थानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको अर्को पर्यटकीय क्षेत्र किस  टापुमा पनि ठुला विस्फोटहरू भएको रिपोर्ट प्राप्त भएको छ।

अहिलेसम्म यो आक्रमणको उद्देश्य र क्षतिको विस्तृत विवरण आउन बाँकी छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले यसबारे आधिकारिक टिप्पणी नगरे पनि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ।

इरानले यी आक्रमणहरूको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। यसअघि पनि मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिका र इरानबीच पटक-पटक सैन्य टकराब हुँदै आएको छ।


स्रोत: एएफपी, रोयटर्स र अलजजिराको सहयोगमा