गायक हिक्मतबहादुर मालीको सम्झना
काठमाडौं । नेपाल प्राकृतिक साधन, स्रोत, जनशक्तिमा धनी हुँदाहुँदै पनि शासकीय क्षमताको अभाव र गलत व्यवस्थापन शैलीको कारण विश्वमा पछि परेको र गरीब राष्ट्र बनेको भएको कुरा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले बताउनुभएको छ । सफल व्यवसायी, समाजसेवी तथा गायक हिक्मतबहादुर मालीले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो योगदान दिनुभएको कुरा बताउँदै त्यस्ता लगनशील र परिश्रमी व्यक्तिलाई समाजले पछिसम्म सझिरहने विचार उहांले व्यक्त गर्नुभयो । उहाँले नेपालमा फलाम, तामा, पेट्रोलियम तथा यूरेनियम खानीको सम्भावना प्रशस्त रहेकोकुरा अन्वेषणले देखाएको कुरा औंल्याउंदै त्यसको उत्खनन तथा उत्पादन यथाशक्य चाँडो सुरु गरेमा नेपालले आर्थिक प्रगतिमा फडको मार्न सकिने विचार औंल्याउनुभयो ।
राजधानीको सोल्टी होटलमा आइतबार हिक्मतबहादुर माली — लगनशील व्यक्तित्व ः सृजनशील पाइलाहरु शीर्षक पुस्तक विमोचन गर्दै उहाँले अब नेपाललाई परिवर्तनको बाटो डोर्याउनपर्ने र देशलाई आर्थिक समृध्दिको मार्गमा अघि बढाउन उद्योगी, व्यापारीहरुले महत्वपूर्ण भूमिका खेल्नपर्ने कुरा औंल्याउनुभयो ।
पूर्वउपप्रधानमन्त्री तथा स्व. मालीका सहपाठी प्रकाशमान सिंहले स्वच्छ छवि भएका मिहेनती व्यक्ति मालीबाट समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन प्रेरणा मिल्ने विचार व्यक्त गर्नुभयो । स्व. मालीले व्यापार, व्यवसायमा मात्र नभई सामाजिक, सांस्कृतिक तथा सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको कुराको चर्चा उहाँले गर्नुभयो ।
सो अवसरमा बोल्दै पूर्व वातावरणमन्त्री सुनिल मानन्धरले समाजसेवा, संगीतका अलावा आर्थिक कूटनीतिको क्षेत्रमा स्व. मालीले महत्वपूर्ण योगदान गर्नुभएको कुरा औंल्याउंदै अब देश विकासको प्रमुख एजेण्डा नै आर्थिक कूटनीति हुनपर्ने विचार व्यक्त गर्नुभयो ।

स्व. मालीकी धर्मपत्नी उर्मिला मालीको सभापतित्वमा संचालित सो कार्यक्रममा पूर्व उद्योगमन्त्रीहरु नवीन्द्रराज जोशी, अष्टलक्ष्मी शाक्य, पुस्तकका लेखक पत्रकार शिरीषवल्लभ प्रधान तथा परराष्ट्र विद् तथा प्राध्यापक डा. अन्जान शाक्यले पनि हिक्मत मालीका व्यक्तित्वका विभिन्न पक्षकाबारे प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा स्व. मालीका सुपुत्र कविन्द्र मालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।