‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख

काठमाडौं, ६ असोज । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताउनुभएको छ ।
सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ–२०८०’ मा उहाँले काठमाडौं, भक्तपुर र ललितपुरलाई सुरक्षित बनाउने अभियानमा प्रहरी लागेको बताउनुभएकाे हाे ।
“काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि योजना बनाएका छौँ,” प्रमुख थापाले भन्नुभयो । उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको उहाँको भनाइ थियो ।
प्रमुख थापाले काठमाडौंमा हुने आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको  बताउनुभयाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताउनुभयो । “समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । उहाँले जनताले अपेक्षा गरेअनुरुपको शान्तिसुरक्षा प्रदान गर्न काठमाडौं प्रहरी तत्पर रहेको पनि बताउनुभयाे ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो ।
उहाँले चाडपर्वको समयमा हुने चोरी, लुटपाटका घटना कम गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागिसमेत सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उहाँको भनाइ थियो ।