सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ

खोटाङ, १३ कात्तिक । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङका सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीलेेेेेेेेेे उपाध्यक्ष चौलागाईंसहित सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो ।

सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ ।

आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उहाँकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई असोज १३ गते तथा प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो ।

महिना दिनअघि काठमाडौँबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत हुनुहुन्छ ।

बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिललगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने जनाउँदै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरुको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।