बाढी प्रभावितका लागि अस्थायी बासस्थान निर्माणमा विदुरले प्रस्ताव गर्यो ८ स्थान
काठमाडौँ, ३० भदौ । बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकारसमक्ष ८ स्थान प्रस्ताव गरेको छ।
प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुखहरूसँग छलफल गरेका थिए। सोही क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ। मेयर राजन श्रेष्ठले उक्त कार्ययोजना पेश गरेका थिए। श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै सोही अनुसार सङ्घीय सरकारले रणनीति बनाउने बताएका छन्।
८ स्थानमा अस्थायी बासस्थानको प्रस्ताव
विदुर नगरपालिकाले विदुर १० अन्तर्गत वेत्रावती क्षेत्रका लागि सुहाँरा डाँडा र विदुर ७ अन्तर्गत तुप्चे/सोले/अक्करे/छिपीटार क्षेत्रका लागि भित्रिनीटार र नेपाल विद्युत् प्राधिकरणको जग्गा प्रस्ताव गरेको छ। विदुर १० भैसे क्षेत्रका लागि कान्नले सेरोफेरो र एक नम्बर पुल क्षेत्रका लागि गर्खुटार वडा कार्यालय क्षेत्र प्रस्ताव गरिएको छ।
विदुर ९ अन्तर्गत सिलटट्याङ्की र बिजुराका लागि राहुलटार, विदुर १ अन्तर्गत त्रिशूली/ढुंगे क्षेत्रका लागि नेपाल विद्युत् प्राधिकरणको जग्गा कोलनी, विदुर ४ अन्तर्गत सिमचौर बस्तीका लागि विदुर २ को धापखेत एरिया र विदुर ५ देविघाटका लागि चन्द्रज्योती मावि तथा आयुर्वेद भवन प्रस्ताव गरिएको छ।
नगरपालिकाका अनुसार आँगपुटार, गेर्खुटार मिलन चौतारा, गुम्बाडाँडा, बान्द्रे, बट्टार र हसिनटार क्षेत्रमा तत्काल कटान नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको छ।
दीर्घकालीन बास व्यवस्थापनको प्रस्ताव
विदुर नगरपालिकाले हरेक वडामा पुनर्वास व्यवस्थापन गर्ने र एक वडा एक पुनर्वास स्मार्ट सिटीको अवधारणाअनुसार सुरक्षित आवासको व्यवस्था गर्ने प्रस्ताव गरेको छ। बाढी प्रभावित नदी बहाव क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन गरी जोखिम क्षेत्रबाट सुरक्षित क्षेत्रमा जग्गा साटासाटको कानुनी प्रावधान ल्याउन समेत नगरपालिकाले सङ्घीय सरकारसमक्ष प्रस्ताव गरेको छ, जसका लागि कित्ता नं ६०३ अन्तर्गतको वनक्षेत्र रहेको ११५८ रोपनी जग्गा प्रस्ताव गरिएको छ।
अन्य वडाका प्रभावित नागरिकलाई स्थानान्तरण गर्न आवश्यक जग्गा प्राप्तिसहित हरेक वडामा स्मार्ट सिटी निर्माण गरी सुरक्षित पुनर्वास बनाउने प्रस्ताव पनि नगरपालिकाले गरेको छ। हरेक वडाबाट वडास्तरीय प्रस्ताव तयार गरी पछि पेश गरिने जानकारी प्रधानमन्त्रीसमक्ष गराइएको छ।
क्षतिको विवरण
विदुरमा हालसम्म बाढीबाट प्रभावित कुल तीन हजार २०० जनाको उद्धार गरिएको छ भने ३९७ जनाको मृत्यु तथा बेपत्ता भएको अवस्था छ। कुल एक हजार ७५० वटा घरमा क्षति पुगेको छ भने एक हजार १६० हेक्टर जमिनमा क्षति भएको छ। नगरपालिकाको अनुमानअनुसार तीन अर्ब ५० करोड बराबरको उद्योगमा क्षति भएको छ। नगरपालिकामा हाल २० वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका छन्।
