उपत्यकामा असोज ३ देखि रात्रिकालीन बस सेवा: अन्तरनगर सहकार्यका लागि भक्तपुर र थिमी पुगिन् कार्यवाहक प्रमुख डंगोल

 

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा आगामी असोज ३ गतेदेखि सुरु हुन लागेको रात्रिकालीन बस सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अन्तरनगर सहकार्यको प्रयास तीव्र पारिएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा रहेको टोलीले आज भक्तपुर र मध्यपुर थिमी नगरपालिकासँग रात्रिकालीन यातायात सञ्चालनमा साझेदारी र समन्वयको औपचारिक प्रस्ताव राखेको छ।

राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने उक्त सेवामा साझा यातायातका २८ वटा विद्युतीय बसमार्फत उपत्यकाका ६ वटा मुख्य रुटहरू समेटिनेछन्।

ट्रान्सबाउन्ड्री मुद्दामा साझा स्वामित्वको प्रस्ताव

भक्तपुर र थिमी नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूसँगको छुट्टाछुट्टै छलफलमा कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन यातायात सेवालाई प्रशासनिक सीमाभित्र मात्र सीमित राख्न नहुने बताउनुभयो। “यो ट्रान्सबाउन्ड्री इस्यु हो। उपत्यकाको आर्थिक गतिविधि वृद्धि गर्न र जनजीवन सहज बनाउन सम्बन्धित सबै पालिकाको अपनत्व रहने गरी सहकार्य अघि बढाउन लागिएको हो,” उहाँले भन्नुभयो।

महानगरले यसअघि नै ३ महिनाको परीक्षणका आधारमा अन्तरनगर साझेदारीको सम्भावना देखेर यो योजना अघि सारेको हो।

भक्तपुर र थिमी नगरपालिकाको समर्थन

काठमाडौँ महानगरको प्रस्तावप्रति दुवै नगरपालिकाका जनप्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिँदै साझेदारीको प्रतिबद्धता जनाएका छन्।

  • भक्तपुर नगरपालिका: प्रमुख सुनिल प्रजापतीले विगतमा ट्रली बस बन्द भएपछि सार्वजनिक यातायातमा उत्पन्न समस्या स्मरण गराउँदै यो सेवालाई नाफा-घाटाभन्दा माथि उठेर हेर्नुपर्ने बताउनुभयो। उपप्रमुख रजनी जोशीले भक्तपुरबासीको काठमाडौँ र ललितपुरसँगको दैनिक आउजाउ, संस्कार र परम्परालाई धान्न रात्रिकालीन सेवा अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

  • मध्यपुर थिमी नगरपालिका: प्रमुख सुरेन्द्र श्रेष्ठले सार्वजनिक यातायातको पहुँच घट्दा थिमी दुर्गमजस्तै बनेको अवस्थामा यो योजनाले पुनः सुगमता ल्याउने भन्दै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो।

रात्रिकालीन बस सेवाका मुख्य विशेषताहरू

  • रुट र बस संख्या:

    • गोदावरी–बुढानीलकण्ठ: ६ वटा बस

    • भक्तपुर (जगाती)–रत्नपार्क–ठमेल: ६ वटा बस

    • त्रिभुवन विमानस्थल–चन्द्रागिरी (नागढुङ्गा): ४ वटा बस

    • कीर्तिपुर–नयाँ सडक (नेपाल वायुसेवा निगम): ४ वटा बस

    • चक्रपथ (दुवैतर्फ): ८ वटा बस

  • अधिकतम भाडा: उपत्यकाभित्र चक्रपथमार्फत बस परिवर्तन गरी यात्रा गर्दा अधिकतम भाडा ८० रुपियाँ तोकिएको छ।

  • थप सुविधा: यात्रुहरूको सहजताका लागि पालिकाका विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाएर राति बसहरू राखिनेछ, जसले बिहान सबेरै विद्यार्थीहरूलाई समेत लक्षित सेवा दिन सघाउनेछ।

साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशिलराज प्याकुरेलका अनुसार स्थानीय सरकारको साझेदारीले यात्रुहरूमा सुरक्षाको विश्वास जगाउनेछ। यसबाट मुख्य गरी रात्रिकालीन काम गर्ने श्रमिक, विद्यार्थी, आन्तरिक पर्यटक र बिरामीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

छलफल टोलीमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य तथा साझा यातायातका कार्यकारी निर्देशक भुपेन्द्र अर्याललगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *