दक्षिणी चीनमा शक्तिशाली आँधी, १२ जनाको मृत्यु , सयौँ घाइते

 

चीन । दक्षिणी चीनमा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको र सयौं मानिस घाइते भएका छन्। हाटो नामक आँधी बुधवार दिउँसो ग्वाङडुङ प्रान्तको जुखाइ शहरमा प्रवेश गरेको थियो। शक्तिशाली समुद्री आँधीले वर्षा पनि निम्त्याएको छ।
हंगकंगले आँधीसम्बन्धी जोखिमलाई सबैभन्दा उच्च अर्थात् १० औं तहमा पुर्‍याएको छ। उक्त भूभाग र नजिकै पर्ने मकाउमा आवतजावत ठप्प भएको छ। समुद्री आँधीले बाढी निम्त्याउनुका साथै ठूलो क्षति पुर्‍याएको छ।
आँधीका कारण बिजुली आपूर्ति पनि बन्द भएको बताइएको छ।
चिनियाँ सञ्चारमाध्यहरुका अनुसार मुख्य भूभागबाट २७,००० मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन्।
हंगकंगको मौसमसम्बन्धी निकायले आँधी प्रतिघण्टा १७५ किलोमिटरको गतिमा रहेको जनाएको छ।