प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित, खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत
काठमाडौँ, ४ असार । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राख्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।
विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयकका विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
बैठकमा विपक्षी दलका २० जना सांसदहरूले विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि राख्नुभएको ‘खर्च कटौतीको प्रस्ताव’ बहुमतले अस्वीकृत भएको छ। खर्च कटौतीको प्रस्ताव राख्नेहरूमा सांसदहरू पद्माकुमारी अर्याल, पुष्पराज कँडेल, मोहमद इस्तियाक राई, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, युवराज दुलालगायत हुनुहुन्थ्यो।
विपक्षी सांसदहरूले बजेट असन्तुलित भएको र फजुल खर्च बढाएको भन्दै खर्च कटौतीको प्रस्ताव माग गरे पनि सभाको बहुमतले अस्वीकृत गरेको थियो ।
अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको मन्त्रालयगत शीर्षकहरूमा असार १ र २ गते दफावार छलफल भएको थियो। सांसदहरूले उठाएका प्रश्नको जवाफ बुधबार र बिहीबार सम्बन्धित मन्त्रीहरूले दिएका थिए।
मन्त्रीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै विपक्षीले विरोध गरे पनि बहुमतको बलमा विनियोजन विधेयक पारित भएको हो। प्रतिनिधिसभाबाट पारित भएसँगै अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेदेखि बजेट कार्यान्वयनमा आउने कानुनी बाटो खुल्नेछ। प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ५ गते शुक्रबार बिहान ११:०० बजे बस्ने गरी स्थगित भएको छ।