बजेट पुस्तिकामा ‘अङ्कगणित’ बिग्रिएको अर्थमन्त्रीको स्वीकारोक्ति, हर्क साम्पाङले संसद्‌मा यसरी समातेका थिए गल्ती

काठमाडौँ, ४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पुस्तिका (विकास कार्यक्रम) मा केही प्राविधिक र गणितीय त्रुटि भएको स्वीकार गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेट विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले यस्तो स्वीकारोक्ति गरेका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले बजेट पुस्तिकाको पाना-पानामा हिसाब नमिलेको भन्दै तथ्यसहित प्रश्न उठाएका थिए। सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मन्त्रालयगत बजेट सूचना प्रणालीमा तथ्याङ्क प्रविष्ट गर्दा प्राविधिक समस्या आएको बताए। “सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फको बजेट सूचना प्रणालीमा विनियोजित कार्यक्रम एक्सेल सिटमा लुकेको र रोहरू ‘हाइड’ हुँदा पुस्तिकामा हिसाब फरक देखिएको हो,” उनले भने।

यद्यपि, उनले पुस्तिकामा हिसाब फरक देखिए पनि सरकारले विनियोजन गरेको कुल बजेटको अङ्कमा भने कुनै फेरबदल नभएको स्पष्ट पारेका छन्।

यसअघि बजेटमाथिको छलफलमा भाग लिँदै सांसद हर्कराज राईले बजेट पुस्तिकाको पाना-पाना पल्टाएर हिसाब नमिलेको देखाएका थिए। उनले प्रधानमन्त्री कार्यालयको बजेटको ‘ब्रेक डाउन’ नै त्रुटिपूर्ण रहेको औँल्याए।

राईले संसद्‌मा भनेका थिए, “पाना नम्बर १६ को बजेट नम्बर ३०१०९०११ मा कुल पुँजीगत ११०६.४३ लेखिएको छ, तर त्यसका शीर्षकहरू जोड्दा ११०३.४३ मात्रै आउँछ। यो ३ करोड कहाँ हरायो ?” उनले पाना नम्बर १९, २०, २१, २७ र २८ मा पनि यसै गरी हिसाब नमिलेको तथ्याङ्क प्रस्तुत गरेका थिए।

सांसद राईले सरकारलाई कडा प्रश्न गर्दै भने, “एकमा एक जोड्दा दुई हुनुपर्ने ठाउँमा तीन लेखिएको छ, यो कस्तो खालको क्लियरिकल मिस्टेक हो ? यदि हामी अङ्कगणितमै फेल भइरहेका छौँ भने हामीले देशका लागि सही नीति कसरी बनाउन सक्छौँ ?”

संसद्‌मा उठेको यो गम्भीर त्रुटिलाई अर्थमन्त्रीले ‘प्राविधिक भूल’ भनेका छन्। तर, विपक्षी सांसदहरूले भने बजेट जस्तो संवेदनशील दस्तावेजमा यस्तो हेलचेक्र्याइँ हुनुले सरकारको गम्भीरतामाथि प्रश्न उठाएको बताएका छन्। अर्थमन्त्रीले भने आगामी दिनमा यस्ता प्राविधिक त्रुटि सच्याएर जाने प्रतिबद्धता जनाएका छन्।