प्रदेशको नामकरण पहिचानको विषय होइन : अध्यक्ष ओली

काठमाडौं, १८ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरण पहिचानकाे विषय नभएकाे बताउनुभएकाे छ ।

इलाम २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि आयोजित विजय सभामा बाेल्दै उहाँले कोशी प्रदेशको नामकरण पहिचानकाे विषय नभएकाे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, कोशी प्रदेशविरुद्ध भइरहेको आन्दोलनको औचित्य छैन, उहाँले जात र थरलाई लिएर पहिचान बनाउन नहुनेमा जोड दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पहिचान भनेको के हो ? पहिचान केलाई भन्ने ? हामी सबै नेपाली हौं । त्यही पहिचान हो । धनी भए धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली । कस्तो पहिचान ? व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल हुन सक्दैन । समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान ।

नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौं थुंगा फुलका एउटै माला हौं । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।’