बालश्रम र यौन शोषण रोक्न ठमेलका स्पा तथा मसाज सेन्टरमा महानगरको अनुगमन
काठमाडौँ, जेठ २१ । काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालित मसाज सेन्टर र स्पामा बालश्रम तथा यौन शोषण रोकथामका लागि विशेष अनुगमन गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी र महानगर प्रहरीसँगको समन्वयमा बुधबार ठमेल क्षेत्रमा यो अनुगमन गरेको हो । ठमेलका होटल, मसाज सेन्टर, स्पा, खाजाघर र गेष्ट हाउसहरूमा १८ वर्षमुनिका बालबालिकालाई श्रम तथा यौन व्यवसायमा प्रयोग गर्ने गरिएको गुनासो आएपछि महानगरले सक्रियता बढाएको हो ।
अनुगमनका क्रममा कतिपय स्पा तथा मसाज सेन्टरहरू दर्ता नै नगरी सञ्चालन गरिएको र कतिपयले निर्धारित आचारसंहिता पालना नगरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिनुभयो ।
संयोजक प्रजापतिले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण श्रम वा यौनजन्य कार्यमा लगाउनु कानुनी रूपमा अक्षम्य र दण्डनीय अपराध भएको उल्लेख गर्नुभयो । यस्तो कार्यमा संलग्न सञ्चालकहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम (निषेध र नियमित गर्ने) ऐन बमोजिम कडा कानुनी कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।
महानगरपालिकाले अबदेखि ठमेल क्षेत्रका व्यवसायहरूमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य राख्नुपर्ने र प्रत्येक व्यावसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने व्यवस्था गरेको छ ।
महानगरले आफ्नो वडालाई बालमैत्री र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्दै कतै बाल यौन बेचबिखन वा श्रम शोषण भइरहेको जानकारी पाएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा वडा कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।