बाजुरामा ढुङ्गा प्रहार गरी युवकको हत्या, १९ वर्षीय आफन्त पक्राउ
बाजुरा, २१ जेठ । बाजुराको बुढीनन्दा नगरपालिकामा आपसी विवादका क्रममा एक युवकको बीभत्स हत्या भएको छ। बुढीनन्दा नगरपालिका–६ कोटिला निवासी ३२ वर्षीय निर रावतको बुधबार राति हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार, आपसी विवादले उग्र रूप लिँदा १९ वर्षीय टेकेन्द्र रावतले निरमाथि ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गाको चोटका कारण निरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न रहेको आरोपमा टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले सोही राति नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मृतक र आरोपी नातामा आफन्त हुन्। उनीहरूबीच के विषयलाई लिएर विवाद भएको थियो भन्नेबारे अझै खुल्न सकेको छैन। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।