उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

भोजपुर, २८ भदौ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थलमा उडान कम हुँदा यात्रु मारमा पर्ने गरेकाे छ ।

विमानस्थल र सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेकोले यात्रु मारमा परेकाे हाे ।

विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ ।

नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ ।

विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो ।

विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो ।

भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो ।