नेपालले चीनलाई दियाे ३१४ रनको विशाल लक्ष्य, कुशल भुर्तेलको विस्फोटक शतक
काठमाडौँ, १७ जेठ । एसियन गेम्सको छनोट खेलमा नेपालले चीनविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर ३१३ रनको ठूलो योगफल तयार पारेको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अत्यन्तै आक्रामक ब्याटिङ गर्दै आकर्षक शतक प्रहार गर्नुभयो। उहाँले मात्र ४३ बलको सामना गर्दै १६ छक्का र ५ चौकाको मद्दतमा १२९ रनको विस्फोटक इनिङ खेल्नुभयो।
यसैगरी, कुशल मल्लले ४७ बलमा अविजित ८५ रन र कप्तान रोहित पौडेलले मात्र २१ बलमा अविजित ६९ रनको योगदान दिनुभयो। उहाँहरूको विष्फोटक ब्याटिङको बलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गर्न सफल भएको हो।
नेपालले बनाएको ३१३ रन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तेस्रो ठूलो योगफल हो। यसअघि नेपालले नै मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। टी-२० अन्तर्राष्ट्रियमा हालसम्मकै उच्च योगफलको कीर्तिमान जिम्बावेको नाममा छ, जसले जाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो।