एसियन गेम्स छनोट: नेपालद्वारा चीन २२१ रनले पराजित
काठमाडौँ, १७ जेठ । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगितामा नेपालले चीनमाथि २२१ रनको फराकिलो जित दर्ता गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। नेपालले प्रस्तुत गरेको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन मात्र ९२ रनमा अलआउट हुन पुग्यो।
यसअघि चीनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले ओपनर कुशल भुर्तेलको विस्फोटक शतकीय इनिङ (१२९ रन) को मद्दतमा निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको थियो। कुशल मल्लले अविजित ८५ र कप्तान रोहित पौडेलले अविजित ६९ रनको योगदान दिनुभएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको चिनियाँ टोली नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन। प्रारम्भिक ओभरदेखि नै दबाबमा परेको चीनले लगातार विकेट गुमाउँदै मात्र ९२ रन जोड्न सक्यो। यस सानदार जितसँगै नेपालले छनोट प्रतियोगितामा महत्वपूर्ण अंक जोड्दै बलियो सुरुवात गरेको छ।