तेह्रथुममा सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि बजार अनुगमन तीव्र
काठमाडौँ, जेठ १७ । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सदरमुकाम म्याङलुङ बजारमा विशेष बजार अनुगमन गरेको छ । सुर्तीजन्य पदार्थको अवैध बिक्री वितरण रोक्न र कानुनी मापदण्ड कार्यान्वयन गराउन प्रशासनले सक्रियता देखाएको हो ।
प्रमुख जिल्ला अधिकारी वन्दना राईको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले स्थानीय व्यवसायीहरूसँग अन्तर्क्रिया गर्दै सुर्तीजन्य पदार्थको बिक्री वितरणसम्बन्धी विद्यमान कानुनी व्यवस्था र स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराएको छ ।
अनुगमनका क्रममा म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात हजारभन्दा बढी रासायनिक तत्व हुने र तीमध्ये करिब ७० भन्दा बढी क्यान्सरजन्य हुने तथ्य प्रस्तुत गर्दै यसको गम्भीरतामाथि प्रकाश पार्नुभयो ।
व्यवसायीहरूलाई कडा निर्देशन
अनुगमन टोलीले व्यवसायीहरूलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐनअनुसार पसलमा अनिवार्य रूपमा स्वास्थ्यसम्बन्धी चेतावनीमूलक सूचना पाटी (बोर्ड) राख्नुपर्ने निर्देशनहरू दिएको छ । वर्षमुनिका बालबालिका तथा गर्भवती महिलालाई चुरोट, खैनी वा अन्य सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने, शिक्षण संस्था र स्वास्थ्य केन्द्रको १०० मिटरको परिधिभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रोक लगाउने, सार्वजनिक स्थलहरूमा धूमपान निषेधको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अनुगमनको उद्देश्य हो ।
साथै, टोलीले व्यवसायीहरूले राज्यलाई बुझाउनुपर्ने अन्तःशुल्क र राजस्व सम्बन्धी कागजातहरूको समेत निरीक्षण गरेको थियो ।
अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान) का प्रमुख तथा प्रतिनिधि र नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो । प्रशासनले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने र कानुन उल्लंघन गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ ।