राष्ट्र बैंकद्वारा शेयर धितो कर्जामा नयाँ व्यवस्था

काठमाडौं, २३ असाेज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै शेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको हो ।

इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्टरूपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ ।

शेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ ।

मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुने एकिन भएको हकप्रद र बोनस शेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर संख्यामा गणना गर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।